मंगलबारको प्रदर्शनपछि उत्पन्न तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन नेपाली सेनाले काठमाडौंका मुख्य चोकहरूमा सुरक्षा जाँच कडा पारेको छ । मंगलबारको ‘जेन–जी’ आन्दोलनका क्रममा भएको भौतिक क्षति र सम्भावित उच्छृंखल गतिविधिलाई रोक्न गएराति १० बजेदेखि नै सुरक्षा निकायलाई सडकमा उतारिएको हो । नयाँ बानेश्वर, कोटेश्वर, बालाजु लगायतका प्रमुख स्थानहरूमा सेनाले बिहानैदेखि गस्ती बढाउँदै सवारीसाधन र पैदलयात्रीमाथि निगरानी गरिरहेको छ ।
सेनाले अवस्थाको मूल्यांकन गरी अत्यावश्यक काम परेकाहरूलाई मात्र जान दिइरहेको छ भने अन्यलाई घर फर्काइरहेको छ । सेनाले अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरूलाई भने परिचयपत्र र सोधपुछका आधारमा आवतजावत गर्न छुट दिएको छ । विनाकारण घर वा गल्लीबाहिर निस्किएका सर्वसाधारणलाई सम्झाई–बुझाई घर फर्काइएको छ ।
प्रदर्शनका क्रममा आगजनी गरिएको नयाँ बानेश्वरस्थित संघीय संसद भवन क्षेत्रमा सेनाले सर्वसाधारणको प्रवेशमा पूर्ण रोक लगाएको छ । यसका साथै, अन्य सरकारी तथा संवैधानिक निकायहरूको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ, जहाँ सेनालगायत अन्य सुरक्षाकर्मीहरूको उपस्थिति बढाइएको छ ।