जेन-जी पुस्ताले आव्हान गरेको आन्दोलन हिंसात्मक बन्दै जाँदा सर्वोच्च अदालतसहित विशेष, उच्च र जिल्ला अदालतहरूमा आगजनी भएको छ । सर्वोच्च अदालतले विक्रम संवत् २००८ सालदेखि संकलन भइरहेका मुद्दाका मिसिल तथा कागजातहरू समेत जलेर नष्ट भएको पुष्टि गरेको छ ।
विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धका मुद्दा रहेका अदालतहरू आन्दोलनकारीको निशानामा परेको देखिएको छ । काठमाडौं जिल्ला अदालत, सिराहा, सप्तरी, रौतहट, मकवानपुर, चितवन, बाँके, रुपन्देही, कास्कीलगायत जिल्लाका अदालतहरूमा तोडफोड र आगजनी गरिएको छ । रुपन्देहीमा त कैदीबन्दीहरू समेत सहभागी भई अदालतभित्र रहेका मिसिल र राय किताब बाहिर निकालेर जलाएको बताइएको छ ।
सर्वोच्च अदालतको डाटा सेन्टर पनि आन्दोलनकारीले ध्वस्त पारेका छन् । सर्वोच्च स्रोतका अनुसार अदालतको तेस्रो तलामा रहेको आइटी रुम र हेटौंडास्थित डाटा सेन्टर दुबै स्थानमा आगजनी गरिएको हो । अदालतसँग अन्यत्र डाटा ब्याकअप रहेको वा नरहेकोबारे स्पष्ट भइसकेको छैन ।
काठमाडौं जिल्ला अदालतको सम्पूर्ण फाइल र भौतिक संरचना जलेको छ भने सिराहा र सप्तरी जिल्ला अदालत पूर्ण रूपमा ध्वस्त भएका छन् । रौतहटमा आंशिक क्षति पुगेको छ । मकवानपुरमा सर्वोच्चकै डाटा सेन्टरसँगै अदालतमा आगजनी भएको छ । चितवन जिल्ला अदालतको कुनै तथ्यांक बाँकी नरहेको बताइएको छ । बाँके अदालतमा बुधबार अपराह्नसम्म पनि आगो निभाउन सकिएको थिएन । कास्कीमा सम्पूर्ण मिसिल नष्ट भएको छ । पर्सामा भने नेपाली सेनाले सुरक्षा दिएकाले ठूलो क्षति हुन पाएन ।
उच्च अदालत विराटनगर, जनकपुरको अस्थायी इजलास राजविराज र हेटौंडामा समेत तोडफोड तथा आगजनी भएको पुष्टि भएको छ ।
सर्वोच्च अदालतले आन्दोलनका क्रममा नष्ट भएका मिसिल, डाटा र अभिलेखबारे औपचारिक विवरण संकलन भइरहेको जनाएको छ । यद्यपि, प्रारम्भिक अनुमानअनुसार धेरै संवेदनशील मुद्दा तथा ऐतिहासिक अभिलेखहरू पूर्ण रूपमा नष्ट भइसकेको बताइएको छ ।


