जेनजी प्रतिनिधि सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच आज पनि वार्ता हुने भएको छ । बिहीबार भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि आज पुनः वार्ता हुन लागेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र संविधानविद्हरुको उपस्थितिमा विहीबार दिनभर र रातभर छलफल गरेका थिए ।
सो छलफलमा संसद विघटन गर्ने कि नगर्ने भन्नेमा सहमति नजुटेपछि निष्कर्षमा पुग्न नसकेको हो । त्यसैले आज शुक्रबार बिहान ९ बजेबाट पुनः छलफल सुरु हुन लागेको हो ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद अध्यक्ष नियुक्त गर्ने विषयमा भने सहमति जुटिसकेको स्रोत बताउँछ ।
राष्ट्रपति पौडेलले दलहरूसँगको छलफललाई तीव्र पारेका छन् । माओवादी र कांग्रेसका नेताहरूसँग उनले छलफल गरिसकेका छन् । गएराति अबेर उनले सभामुख देवराज घिमिरेसँग पनि छलफल गरेका छन् ।
अन्तरिम सरकार गठन, संसद्लगायत विषयमा उनले राजनीतिक दल र सभामुखसँग परामर्श गरेका हुन् ।
जेनजी प्रतिनिधिले अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीलाई दिने बताएका छन् । राष्ट्रपतिले गरेको परामर्शमा दलहरूले पनि कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिँदा आपत्ति नहुने बताएका छन् । तर, दलहरूले संसद् भंग गर्न नहुने सर्त राखेका छन् ।
कार्की पनि यो जिम्मेवारी लिन तयार देखिएकी छन् । तर, यसका लागि प्रक्रिया मिल्नुपर्ने उनको सर्त छ । संसद् विघटन नगरी बाहिरबाट सरकार बन्न नसक्ने उनको जिकिर छ ।


