Banijya News

प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त : शपथ ९ बजे

1
1.3K Shares

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति जुटेपछि आजै उनले प्रधानमन्त्रीको रूपमा शपथ लिने भएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति ८ः४५ बजे शीतल निवासमा कार्कीलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी भइरहेको राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्। राष्ट्रपति पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएका थिए । तर, युवा (जेन–जी) आन्दोलनका बलमा प्रधानमन्त्री बनेकी कार्कीले संविधानको धारा–६१ अनुसारको नियुक्तिपत्र पाएकी हुन् ।

नेपालको संविधानको धारा–६१ मा राष्ट्रपति सम्बन्धी व्यवस्था छ, जसमा प्रधानमन्त्रीको पद, अधिकार र नियुक्तिको कुनै प्रसंग उल्लेख छैन । संविधानको धारा ६१ (१ र २)मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने व्यवस्थाका साथै राष्ट्रपतिले संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्ने व्यवस्था छ । राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्नेछ अनि संविधानको पालन र संरक्षण गर्ने व्यवस्था पनि सोही धारामा छ । राष्ट्रपतिले आफ्नो काम, कर्तव्य र क्षेत्राधिकारको विषय उल्लेख भएको धारा अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

यो निर्णय राष्ट्रपति पौडेल र ‘जेन–जी’ का प्रतिनिधिहरूबीच भएको गहन छलफलपछि लिइएको हो। यसअघि राष्ट्रपतिले नयाँ सरकार गठन गरेर मात्रै संसद विघटन गर्ने अडान राखेका थिए, तर अहिले संसद विघटन र कार्कीको नियुक्ति एकसाथ गर्ने सहमति भएको स्रोतले बताएको छ। यसका लागि आवश्यक पर्ने प्रतिनिधिसभा विघटनको निर्णय र कार्कीको नियुक्तिपत्रको मस्यौदा तयार पार्ने काम अहिले शीतल निवासमा भइरहेको छ।

कार्कीको नेतृत्वमा बन्ने अन्तरिम सरकारले प्रमुख रूपमा दुईवटा जिम्मेवारी पूरा गर्नेछ: मुलुकमा राजनीतिक स्थिरता कायम गर्दै आगामी छ महिनाभित्र आम निर्वाचन सम्पन्न गर्नु। यो सहमतिले पहिले संसद विघटन गर्ने कि सरकार गठन गर्ने भन्ने विवादलाई समाप्त गर्दै मुलुकलाई निर्वाचनको दिशामा अगाडि बढाउने अपेक्षा गरिएको छ।

1

Scroll to Top