Banijya News

सुशीला कार्की न्यायपालिकादेखि कार्यपालिकासम्म, एक निर्भीक व्यक्तित्वको राजनीतिक यात्रा

1
1.4K Shares

नेपालको न्यायिक इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश बनेर कीर्तिमान कायम गरेकी सुशीला कार्की अब कार्यपालिकाको नेतृत्वमा आएकी छन्। जेनजी आन्दोलनकारीदेखि प्रमुख राजनीतिक दलहरूको सहमतिमा अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न लागेकी उनी आजै बेलुकी ९ बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण गर्दैछिन्। शपथलगत्तै बस्ने मन्त्रिपरिषद्को पहिलो बैठकले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र राष्ट्रपतिले त्यसलाई स्वीकृत गर्नेछन्।

मोरङको किसान परिवारमा जन्मेकी कार्कीले विराटनगरबाट कानुन व्यवसाय सुरु गरेकी थिइन्। उनी बनारस हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेर नेपाल फर्किएकी थिइन्। प्रजातान्त्रिक आन्दोलनका नेता दुर्गा सुवेदीसँग विवाह गरेकी उनी लामो समय वकालतमा रहिन् र २०६५ सालमा सर्वोच्च अदालतको अस्थायी न्यायाधीश बनिन्। आफ्नो हक्की र इमान्दार स्वभावका कारण न्यायपालिकामा रहँदा उनी निकै चर्चित थिइन्।

उनको १५ महिने प्रधानन्यायाधीशको कार्यकालमा कडा र विवादास्पद निर्णयहरू भए। यसमा लोकमानसिंह कार्की को योग्यता विवाद, सुडान घोटाला र प्रेरणा शाहको दाइजोसम्बन्धी जग्गा जस्ता मुद्दाका फैसलाहरू प्रमुख थिए। उनले न्यायपालिकामा राजनीतिक हस्तक्षेपको खुलेर विरोध गरेकी थिइन्। यसै कारणले उनलाई महाभियोगको सामना गर्नुपरेको थियो, जसलाई पछि सर्वोच्च अदालतकै संवैधानिक इजलासले ‘राजनीतिक प्रतिशोध’ भनेको थियो।

करीब आठ वर्षपछि राजनीतिमा फर्किएर अन्तरिम प्रधानमन्त्री बनेकी कार्कीसामु अब ठूला चुनौतीहरू छन्। उनले ध्वस्त भएका सरकारी र निजी संरचनाहरूलाई पुनर्निर्माण गर्ने, सुशासन कायम गर्ने र छ महिनाभित्र आम निर्वाचन सम्पन्न गरी नयाँ जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने जिम्मेवारी लिएकी छन्। उनको निर्भीक र खरो स्वभावले उनको यो यात्रा सहज हुने छैन। पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले सामना गरेका चुनौतीभन्दा कार्कीसामु कैयौं गुणा बढी चुनौती रहेको विश्लेषकहरू बताउँछन्। तर, मुलुकलाई संकटबाट जोगाउन उनले यो जिम्मेवारी स्वीकार गरेको देखिन्छ। विगतमा उनकै न्यायिक दृष्टिकोणले स्थापित गरेका केही मान्यता विपरीत भए पनि मुलुकको अस्तित्व जोगाउन सफल हुनु उनको लागि अपरिहार्य छ।

न्यायपालिकामा हुने राजनीतिक दबाब र हस्तक्षेपलाई खुलेर अस्वीकार गर्ने उनको अडानले धेरै मुद्दामा निष्पक्ष निर्णय सम्भव बनायो। यद्यपि, उनको कार्यकालमा उनीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता हुनु एक विवादास्पद घटना थियो, जसले उनको निष्पक्षता र दृढतालाई झनै उजागर गर्‍यो। सुशीला कार्की केवल एक न्यायाधीश मात्र नभएर महिला सशक्तीकरणको प्रतीक पनि बनिन्। उनले क्षमता, इमानदारी र दृढताले महिलाहरू पनि राज्यको सर्वोच्च पदमा पुग्न सक्छन् भन्ने प्रमाणित गरेर नेपालको न्यायिक इतिहासमा एक अविस्मरणीय छाप छोडेकी छन्।

1

Scroll to Top