काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा ६ शव फेला परेको छ । पूर्ण रूपमा जलेको भाटभटेनीको स्टोर सफा गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी अपीलराज बोहोराले जानकारी दिए । शवको पहिचान खुलेको छैन ।
तर भाटभटेनीले आफ्ना कर्मचारी भने नभएको स्पष्ट पारेको छ । “भाटभटेनीभित्र शव फेला पारेको हामीले पनि सुन्यौँ,” भाटभटेनीको सीओओ पानु पौडेलले भने, “हाम्रा कर्मचारी नभएको स्पष्ट पार्न चाहन्छौँ । जसको मृत्यु भएको भए पनि त्यो दुखद् हो ।”
यही भदौ २३ गतेदेखि ‘जेनजी’को प्रदर्शनका क्रममा देशभर जनधनको ठूलो क्षति भएको छ । भदौ २४ गते देशभर तोडफोड र आगजनी गरिएको थियो ।


