Banijya News

जेनजी सरकारमा रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल

1
1.2K Shares

जेनजी आन्दोलनको मागअनुसार गठन भएको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्रीमा नियुक्त गरेकी छन् । आन्दोलनकारी जेनजी समूहसँगको परामर्शपछि उनीहरूको नाम टुंगो लागेको हो ।

मन्त्रीहरूको जिम्मेवारी
रामेश्वर खनाल: उनलाई अर्थमन्त्रीको जिम्मेवारी दिने तयारी गरिएको छ । खनाल यसअघि अर्थसचिवका रूपमा सुशासन कायम गर्न सफल अधिकारीका रूपमा चिनिन्छन् ।

कुलमान घिसिङ: उनलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको साथै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिने तयारी छ । नेपालमा लोडसेडिङ अन्त्य गरी विद्युत् प्राधिकरणको सुधारमा उनको भूमिका प्रशंसनीय मानिन्छ ।

ओमप्रकाश अर्याल: उनी गृह र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीमा रहनेछन् । अर्यालले जेनजी आन्दोलनलाई निष्कर्षमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनी काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार पनि हुन् ।

प्रधानमन्त्री कार्कीले यी तीनै जनालाई आफ्नो मन्त्रिपरिषद्मा समावेश गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिसकेकी छन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनीहरूको शपथग्रहण सोमबार हुनेछ ।

जेनजीको प्राथमिकता र सरकारको तयारी
भ्रष्टाचारविरुद्धको जेनजी आन्दोलनको मर्मअनुरूप प्रधानमन्त्री कार्कीले सुशासन कायम गर्न सक्ने र अन्तरिम सरकारका चुनौतीहरूलाई सामना गर्न सक्ने व्यक्तिहरूलाई मन्त्री छनोटमा प्राथमिकता दिएकी छन् । खनाल र घिसिङ दुवै जेनजी आन्दोलनकारीले रुचाएका व्यक्ति हुन् ।

प्रधानमन्त्री कार्कीले थप मन्त्रीहरू पनि जेनजी युवाहरूसँगको परामर्शपछि नै छनोट गर्ने बताएकी छन् । उनले यसअघि नै अधिवक्ता सविता भण्डारी बराललाई महान्यायाधिवक्तामा नियुक्तिका लागि सिफारिस गरिसकेकी छन् ।

आन्दोलनकारीको माग सम्बोधन
प्रधानमन्त्रीको पहिलो प्राथमिकता आन्दोलनका क्रममा ज्यान गुमाएका तथा घाइते भएकाहरूको माग सम्बोधन गर्ने रहेको छ । उनले पदभार ग्रहण गरेलगत्तै आन्दोलनमा ज्यान गुमाएकाहरूलाई सहिद घोषणा गर्ने र उनीहरूको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेकी छन् । यसअघि, उनले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको मिति घोषणा गर्ने सिफारिस पनि गरेकी थिइन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको आगजनीका कारण उनको पदभारग्रहण गृह मन्त्रालयको भवनमा गरिएको थियो । हाल, गृह मन्त्रालयलाई सामान्य प्रशासन मन्त्रालय रहेको भवनमा सारिएको छ ।

सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेका छन् । आईतबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए । नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

1

Scroll to Top