भदौ २३ र २४ गते सम्पन्न ‘जेन-जी’ आन्दोलनले नेपाललाई केवल राजनीतिक मात्र नभई आर्थिक दृष्टिले समेत गम्भीर क्षति पुर्याएको छ। दुई दिनसम्म देशव्यापी रूपमा चलेको प्रदर्शनका क्रममा सरकारी तथा निजी संरचनामा भएको तोडफोड, आगजनी र लुटपाटका कारण देशले कुल ग्राहस्थ उत्पादन (जिडिपी) को झन्डै आधा हिस्सा गुमाएको तथ्यांक सार्वजनिक भएको छ।
आन्दोलनका क्रममा राजधानी काठमाडौंदेखि मोफसलका विभिन्न सहरसम्म होटल, सुपरमार्केट, उद्योग, सञ्चारगृह लगायतका संरचनाहरूमा व्यापक तोडफोड भयो। यसले सिधै निजी क्षेत्रलाई लक्षित गरेकाले लगानी वातावरण असुरक्षित बनेको छ।
सामाजिक सञ्जाल प्रतिबन्ध, सुशासनको माग र भ्रष्टाचारविरुद्धको नारासहित सुरु भएको आन्दोलनले एकातर्फ भ्रष्टाचारविरोधी जनभावनालाई प्रतिनिधित्व गरे पनि अर्कोतर्फ मुलुकको आर्थिक मेरुदण्डमै गम्भीर आघात पुर्याएको छ।
सबैभन्दा ठूलो क्षति खुद्रा व्यापार क्षेत्रमा देखिएको छ।
भाटभटेनी सुपरमार्केटले मात्रै ५० अर्ब रुपैयाँ बराबरको क्षति बेहोर्नु परेको कम्पनी स्रोतले जनाएको छ।
यसैगरी, होटल हिल्टन, हयात, पोखरा र दाङका प्रमुख पर्यटन प्रतिष्ठानहरूमा आक्रमण हुँदा हजारौं श्रमिक रोजगारीबाट विस्थापित भएका छन्।
एक निजी क्षेत्र विज्ञ भन्छन्, “भौतिक सम्पत्ति गुम्नु क्षति हो, तर लगानीकर्ताको विश्वास गुम्नु अझ ठूलो संकट हो।”
यसपटकको क्षति ‘मानवनिर्मित’ भएको ठहर गर्दै विदेशी दातृ राष्ट्र र संस्थाहरूले सहयोगमा पछि हट्ने संकेत दिएका छन्।
पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीका अनुसार, “द्विपक्षीय सहयोगमा कटौती हुन्छ, अनुदान घट्छ र वैदेशिक लगानी घट्ने सम्भावना उच्च हुन्छ। यसले नेपालको स्तरोन्नतिको यात्रा रोक्न सक्छ।”
आन्दोलनका कारण तत्कालै हजारौंले रोजगारी गुमाएका छन्। चाडपर्व नजिकिँदै गर्दा होटल, उद्योग तथा सेवाक्षेत्रका कामदारहरू बेरोजगार भएपछि नागरिकमा असुरक्षा र अनिश्चितताको भावना थपिएको छ।
साथै, बजारमा उपभोक्ताको विश्वास घट्न थालेको देखिएको छ। सुरक्षित व्यापारिक वातावरणको खोजी व्यापक बन्न थालेको छ।
यद्यपि, अर्थशास्त्री डा. गोपीलाल न्यौपानेका अनुसार, “विनाशपछि पुनर्निर्माण प्रक्रिया सुरु हुँदा निर्माण सामग्रीको माग बढ्छ। यसले सिमेन्ट, रड, इँटा उद्योगहरूमा चहलपहल ल्याउँछ र अस्थायी रूपमा रोजगार सिर्जना हुन्छ।”
त्यस्तै, आन्दोलनले उठाएका भ्रष्टाचारविरोधी मुद्दाले राज्यलाई दबाब सिर्जना गरेको बताउँदै उनी भन्छन्, “यदि सरकारले सुशासन सुनिश्चित गर्न प्रभावकारी कदम चाल्यो भने दीर्घकालीन रूपमा अर्थतन्त्र सुदृढ बन्न सक्छ।”


