भदौ २४ मा भएको जेन–जी आन्दोलनका क्रममा आक्रमणकारीले गरेको आगजनी, तोडफोड र लुटपाटका कारण सेयर बजारमा सूचीकृत करिब दुई दर्जन कम्पनी प्रभावित भएका छन् । यसमध्ये तीनवटा पब्लिक कम्पनीमा प्रत्यक्ष भौतिक क्षति भएको छ भने अन्य धेरैमा अप्रत्यक्ष असर पर्ने देखिएको छ ।
तारागाउँ रिजेन्सी होटल (हायात), चन्द्रागिरि हिल्स लिमिटेड र नेपाल टेलिकमका संरचनामा आगजनी, तोडफोड र लुटपाट भएपछि तिनको व्यवसाय तत्काल प्रभावित भएको छ । हायात होटलको क्यासिनो भवनमा आगजनी, चन्द्रागिरि हिल्सको तल्लो स्टेशनमा क्षति र नेपाल टेलिकमको वीरगन्जसहितका कार्यालयमा तोडफोड तथा चोरीका घटना भएका छन् । यसले कम्पनीको दैनिकी सञ्चालनमा अवरोध ल्याएको छ ।
देशभर वाणिज्य बैंकका शाखाहरूमा पनि क्षति पुगेको नेपाल बैंकर्स संघले जनाएको छ । एटीएम मेसिन तोडफोड र शाखा ध्वस्त भए पनि बैंकिङ प्रणालीमा ठूलो अवरोध भने नआएको संघको दाबी छ । तर, बीमा, पुनर्बीमा कम्पनी र होटल–पर्यटन क्षेत्र भने बढी प्रभावित भएका छन् ।
नेप्सेमा सूचीकृत १३ निर्जीवन बीमा कम्पनी र २ पुनर्बीमा कम्पनी प्रभावित हुने देखिएको छ । हालसम्म करिब ३० अर्ब रुपैयाँ बराबरको बीमा दाबी दर्ता भइसकेको छ भने अझै बढ्ने अनुमान गरिएको छ । पर्यटन क्षेत्रमा सूचीकृत तारागाउँ, चन्द्रागिरि, सोल्टी, ओरियन्टल, सिटी होटल र कालिन्चोक दर्शन गरी ६ कम्पनी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भएका छन् । होटल संघ नेपालका अध्यक्ष विनायक शाहका अनुसार यो घटनाले नेपाल आउने विदेशी पर्यटकको मनोविज्ञानमा नकारात्मक सन्देश पुगेको छ ।
तर, हाइड्रोपावर क्षेत्र भने सुरक्षित देखिएको छ । स्वतन्त्र ऊर्जा उत्पादक संघ (IPPAN) का अध्यक्ष गणेश कार्कीका अनुसार हालसम्म कुनै आयोजना वा कार्यालयमा क्षति भएको रिपोर्ट आएको छैन । ग्रामीण क्षेत्रमा रहेका हाइड्रो आयोजनाहरू शहरी क्षेत्रको आगजनी–तोडफोडबाट सुरक्षित रहने भएकाले लगानीकर्ताको विश्वास कायम रहने उनको भनाइ छ ।
यसबीच, निर्माण क्षेत्रलाई भने अप्रत्यक्ष रूपमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । आगजनीमा नष्ट भएका निजी तथा सरकारी संरचना पुनर्निर्माणमा ठूलो परिमाणमा सिमेन्टलगायत निर्माण सामग्री खपत हुने भएकाले सूचीकृत सिमेन्ट कम्पनीहरूको व्यवसाय बढ्ने देखिएको छ ।


