नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवदेन दशैंपछि मात्र खुल्ने भएको छ । भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा यातायात व्यवस्था विभागमा भएको तोडफोड, लुटपाट तथा आगजनीबाट इलेक्ट्रोनिक उपकरण, प्रिन्टर, सर्भरमा क्षति पुगेकोले लाइसेन्स तथा विद्युतीय सवारी साधन दर्ता (ईडीएलभीआरएस) सम्बन्धी सेवा अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
अब क्षति भएकाे सर्भर मर्मत गरी लाइसेन्स सम्बन्धी सेवा दशैंपछि मात्रै संचालन गरिने भएको हो । विभागका सूचना प्रवधि शाखा प्रमुख (निर्देशक) केशव खतिवडाले लाइसेन्सको नयाँ आवेदन दशैंपछि मात्रै खुलाउने योजना रहेको बताए ।
आगलागीबाट ठ्याक्कै कति लाइसेन्स र स्मार्ट कार्ड जले भन्ने एकिन तथ्यांक आइनसकेको उनले बताए । साथै, सुरक्षित भेटिएका केही लाइसेन्स पनि चाँडै वितरण गरिने उनकाे भनाइ छ ।
उनले आगजनीबाट भवन जले पनि लाइसेन्स सम्बन्धी विवरण (डाटा) सुरक्षित नै रहेको बताए । अहिले देशभरका ४२ वटा यातायात व्यवस्था कार्यालयबाट लाइसेन्स सेवा प्रदान गरिँदै आइएको छ ।


