Banijya News

संसद् सञ्चालनको तिन वर्षमा तलब–भत्तामा मात्रै तीन अर्ब २१ करोड खर्च

1
1.2K Shares

संघीय संसद् सञ्चालनको तीन वर्षे अवधिमा सांसद तथा पदाधिकारीहरूको तलब–भत्ता, सचिवालय व्यवस्थापन र भवन भाडासहित तीन अर्ब २१ करोड रुपैयाँभन्दा बढी खर्च भएको तथ्यांक सार्वजनिक भएको छ । यो रकममा संसद् सचिवालयको नियमित प्रशासनिक खर्च भने समावेश गरिएको छैन ।

संसद् सचिवालयको तथ्यांकअनुसार २०७९ पुसदेखि २०८२ भदौसम्म पदाधिकारी, सदस्य र उनीहरूको सचिवालय व्यवस्थापनसँगै भवन भाडा तिर्दा जम्मा तीन अर्ब २१ करोड ८६ लाख सात हजार ६१९ रुपैयाँ खर्च भएको हो ।

लेखा शाखाका अनुसार २०८२ असार मसान्तसम्म तलब–भत्तामा मात्रै एक अर्ब १० करोडभन्दा बढी खर्च भएको थियो भने भदौ मसान्तसम्म पुग्दा यो रकम करिब एक अर्ब १३ करोड पुगेको छ । यसै अवधिमा सांसद तथा पदाधिकारीका लागि स्वकीय सचिवालय व्यवस्थापनमा एक अर्ब ६३ करोड ८६ लाख खर्च भएको सचिवालयले जनाएको छ ।

यसबाहेक, नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संसद् भवन सञ्चालनबापत वार्षिक १५ करोड भाडा तिर्दै आएको सचिवालयले पछिल्ला तीन वर्षमा ४५ करोड रुपैयाँ बुझाइसकेको छ ।

सचिवालयकी सूचना अधिकारी सावित्रा शर्माका अनुसार प्रतिनिधिसभा विघटन भएकाले अहिले सभामुख र उपसभामुखबाहेक अन्य सांसदले सुविधा पाउने छैनन् । तर राष्ट्रिय सभा कायम भएकाले त्यहाँका पदाधिकारी र सदस्यले भने नियमित पारिश्रमिक र सुविधा पाउँछन् ।

उनका अनुसार जेन–जी आन्दोलनका क्रममा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जलाइएकाले अब त्यसलाई थप भाडा बुझाउनुपर्ने छैन ।

1

Scroll to Top