Banijya News

भौतिक पूर्वाधार र सहरी विकास सहित अन्य जीर्ण आयोजनाको ठेक्का तोडिने

1
1.2K Shares

लामो समयदेखि काम नगरी अलपत्र पारिएका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयअन्तर्गतका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ।

मन्त्री कुलमान घिसिङले बिहीबार सिंहदरबारमा तीनवटै मन्त्रालयका सचिव तथा विभागीय प्रमुखसँगको बैठकमा जीर्ण आयोजनाको सूची तत्काल तयार गरी पेस गर्न निर्देशन दिएका हुन्। उनले तोकिएको समयमै गुणस्तरीय काम नगर्ने ठेकेदारलाई अनुहार हेरेर छुट दिन नसकिने स्पष्ट पारे।

सिँचाइतर्फ राष्ट्रिय गौरवको सुनकोशी–मरिण बहुउद्देश्यीय आयोजना, भौतिक पूर्वाधारतर्फ तोकिएको समयभन्दा तीनपटक बढी ढिलाइ भएका सडक, र सयभन्दा बढी पुल निर्माण आयोजनाहरू अलपत्र अवस्थामा रहेका छन्।

यसैबीच, मन्त्री घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवन जसरी पनि आगामी पुसभित्र सम्पन्न गर्न निर्देशन दिएका छन्। संसद् भवन निर्माण २०७६ असोजमा सुरु भएको हो भने हालसम्म ८६ प्रतिशत प्रगति भएको छ। ठेक्का सम्झौतामा पाँच पटक म्याद थपिँदा पनि अझै विद्युत्, स्यानिटरी, फायर फाइटिङ, एचभिएसी परीक्षण तथा फल्स सिलिङ जस्ता महत्वपूर्ण काम बाँकी छन्।

मन्त्रीले अनियमितता रोक्न समेत कडा निर्देशन दिएका छन्। “भूतकालमा कमिसनका नाममा बजेट बेचिएको आरोप सुन्नु परेको छ। अब एक रुपैयाँ पनि अनियमितता भएको फेला परेमा कारबाही हुन्छ,” उनले चेतावनी दिए।

सरकारको यो कदमले वर्षौँदेखि अलपत्र रहेका ठूला पूर्वाधार आयोजनामा नयाँ गति आउने अपेक्षा गरिएको छ।

1

Scroll to Top