Banijya News

सुमना र हरि ढकालबीच जुम मिटिङमा यसरी भएको थियो भनाभन !

1
1.2K Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा लामो समयदेखि असन्तुष्ट रहँदै आएकी सांसद सुमना श्रेष्ठले अन्ततः पार्टी परित्याग गरेकी छन्। पार्टी त्याग्ने उनको निर्णय हालै सभापति रवि लामिछानेको रिहाइ प्रकरणसँग जोडिएको स्रोतले जनाएको छ।

जेन–जी आन्दोलनका क्रममा लामिछानेलाई कार्यकर्ताहरुको दवावपछि कारागारबाट बाहिर ल्याइएको थियो। त्यस क्रममा उनलाई प्रशासनबाट दिइएको पत्र र त्यसपछिको गतिविधि पार्टीभित्रै विवादास्पद बनेको हो। कारागारबाट निस्किँदा लामिछानेले चुनाव जितेजसरी कारको रुफटपमा हात हल्लाउँदै ‘विजयी भाव’ प्रस्तुत गरेको दृश्यले पनि केही नेतामा असन्तोष जन्माएको थियो।

उपसभापति डिपी अर्यालले लामिछानेलाई अंकमाल गर्दै भावुकता प्रदर्शन गरे भने प्रवक्ता मनिष झाले समेत पार्टीको आन्तरिक समूहमा कारागारबाट निस्किँदा कमजोरी भएको स्वीकारेका थिए। उनले भिड जम्मा गर्नु, सन–रुफ भएको गाडी पर्खिनु र रेस्टुरेन्टमा रोकिनु जस्ता गतिविधि गलत भएको बताएका थिए।

केन्द्रीय सदस्य गणेश कार्कीले प्रशासनले दिएको पत्रको भाषा र वैधानिकता प्रति आपत्ति जनाएपछि पार्टीभित्र विवाद चर्किएको थियो। यही विषयमा कारागारबाट निस्किएको राति भर्चुअल बैठक बसेको र त्यहाँ नेताहरूबीच कडा वादविवाद भएको स्रोत बताउँछ। बैठकमा सुमनाले “रवि लामिछाने मौका छोपेर निस्किएका हुन्” भन्दै आपत्ति जनाएकी थिइन्।

सोही क्रममा सांसद हरि ढकाल र सुमनाबीच भनाभन समेत भएको थियो। ढकालले ‘बाघका छालामा स्यालको रजाईं’ भन्दै सुमनालाई खिस्याएका थिए। साथै उनले “रवि लामिछानेकै कारण सांसद बनेकाहरुले आफ्नो हैसियत नबिर्सनु” पर्ने टिप्पणी गरेपछि सुमना आक्रोशित बनेकी थिइन्।

स्रोतका अनुसार पटक–पटक आफ्नो ‘हैसियत’ मा प्रश्न उठाइएपछि सुमनालाई नैतिक रूपमा पार्टीमा बस्न असहज भएको हो। उनले पार्टी छोड्ने तयारीबारे रविले समेत अघिदेखि जानकारी पाइसकेका थिए।

लामिछानेले कारागारबाट बाहिर निस्किनुअघि फेसबुकमा लेखेको स्टाटसमा पनि अप्रत्यक्ष रूपमा यो संकेत मिल्छ। उनले लेखेका थिए, “आफ्नै पार्टी परिवारभित्रका साथीहरूप्रति मेरो कुनै गुनासो छैन। म सबैको स्वतन्त्रताको सम्मान गर्छु। तपाईंलाई राम्रो हुन्छ भने रवि लामिछाने तपाईंको यात्राको बाधक बन्ने छैन।”

स्रोतका अनुसार अहिले रास्वपाभित्र अन्य केही नेताहरू पनि असन्तुष्ट रहेका छन्, तर उनीहरू खुल्न नसकेका अवस्था छ। कतिपय नेताहरू भने ‘पर्ख र हेर’ स्थितिमा रहेको जनाइएको छ।

1

Scroll to Top