Banijya News

जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा ८० अर्ब बराबरको क्षति

1
1.2K Shares

जेनजी आन्दोलनमा निजी क्षेत्रमा ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको नेपाल उद्योग वाणिज्य महासंघले प्रारम्भिक अनुमान गरेको छ । 

प्रधानमन्त्री सुशीला कार्कीसँग आइतवार भएको छलफलमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले हालसम्म उपलब्ध तथ्यांक र सूचनाअनुसार उक्त रकम बराबरको क्षति भएको आकलन गरिएको जानकारी दिए । 

महासंघले देशैभरको क्षति विवरण संकलन गरिरहेको छ । ठूलो क्षति भएका उद्योग र साना एवं राजधानी बाहिरका केही व्यवसायको विवरण आउन नसकेको र कतिपय दोहोरोपन पनि देखिएको अध्यक्ष ढकालले बताए । 

छलफलका क्रममा अध्यक्ष ढकालले निजी क्षेत्रले सम्मानित रूपमा काम गर्न सक्ने वातावरणका लागि आवश्यक सहयोग र सुरक्षाको अपेक्षा सरकारसँग रहेको बताए । 
 
‘हामी पनि सम्हालिँदै र सरकारलाई पनि सघाउँदै सहकार्य गर्न तयार छौ,’ अध्यक्ष ढकालले भने । उनले आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण हुनुले निजी क्षेत्रको महत्त्व बुझ्न नसकिएको रूपमा हेर्न सकिने बताए । महासंघ र अन्तरराष्ट्रिय वित्त निगमले गरेको अध्ययन अनुसार अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत छ भने ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले दिइरहेको छ । 

साथै अध्यक्ष ढकालले अर्थतन्त्र पुनः स्थापना र सुशासन कायम गर्न निजी क्षेत्र र सरकार बीच निरन्तर संवाद संयन्त्र निर्माण गर्न, व्यवसायीलाई आत्मविश्वासका साथ खुला रूपमा व्यवसाय गर्न सक्ने वातावरणको सुनिश्चितता कायम गर्न पनि आग्रह गरे । 

युवा पुस्ताको आन्दोलनका क्रममा भएको घुसपैठका कारण निजी क्षेत्रले ठूलो जनधनको क्षति बेहोरेको र उक्त घटनाका दोषीमाथि कारवाही हुनुपर्ने निजी क्षेत्रको माग छ । कारवाही हुन नसके दण्डहीनताको अवस्था सिर्जना भै निजी लगानी थप निरुत्साहित हुनेतर्फ निजी क्षेत्रका प्रतिनिधिहरूले सरकारको ध्यानाकर्षण गराए । 

छलफलका क्रममा आन्दोलनमा प्रभावित व्यवसायीलाई कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा प्रदान गर्न, लगानी आकर्षित गर्न आयकर लगायतमा छूट प्रदान गर्न पनि अध्यक्ष ढकालले आग्रह गरे । माग बढाउन मूल्य अभिवृद्धि करको दरमा पनि समायोजन गर्न सकिने तर्फ महासंघले सुझाव दिएको छ । यसैगरी ब्याज सहुलियत र नयाँ संरचना निर्माण गर्न आवश्यक सामान ल्याउन प्रभावित व्यवसायीलाई भन्सार लगायत शुल्कमा छूट दिन पनि महासंघले आग्रह गरेको छ । 

नागरिक एपबाट व्यवसाय दर्ता एवं खारेजी लगायतका सेवा लिन सकिने एवं कर बुझाएपछि नवीकरण गर्नुपर्ने बाध्यता हटाउनु पर्ने माग महासंघले निरन्तर उठाइरहेको छ ।

यसैगरी अध्यक्ष ढकालले सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम पुनर्निर्माणमा लगाउन सकिने हुँदा त्यसलाई खर्चका रूपमा देखाउन पाउने र अन्य सहजीकरण आवश्यक रहेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराए । 

कर छुट, साना तथा मझौला उद्यमका लागि उत्पादनमा आधारित राहत र सहुलियतपूर्ण कर्जाको आवश्यकताका साथै बजेट पुनरावलोकन गरी अनावश्यक शीर्षकको रकम पुनर्निर्माणमा उपयोग गर्न सकिने महासंघको सुझाव छ । 

छलफलका क्रममा चालु पूँजीकर्जा मार्गदर्शन कम्तीमा दुई वर्ष स्थगन पुनर्कर्जा, ब्याज अनुदान लगायतका वित्तिय सहुलियत तत्काल दिन सकिने तर्फ व्यवसायीहरूले प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए ।

गत भदौ २३ गते शुरु भएको उक्त आन्दोलनको पहिलो दिन गोली लागेर १९ जनाको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट उग्र बनेका प्रदर्शनकारी सरकारी संरचनासँगै निजी निवास र व्यावसायिक भवनमा लुटपाट, तोडफोड र आगजनी गरेका थिए । 

1

Scroll to Top