Banijya News

पुनर्निर्माणका लागि आयात गरिने सामग्रीमा ५० प्रतिशत भन्सार छूट

1
1.2K Shares

सरकारले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त भएका सम्पत्तिहरूको पुनर्निर्माणका लागि आयात गरिने सामग्रीमा लाग्ने भन्सार शुल्कमा ५० प्रतिशतसम्म छूट दिने निर्णय गरेको छ ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सरकारी र निजीक्षेत्रका व्यवसाय तथा भवनहरूमा व्यापक क्षति पुगेको थियो । नेपाल उद्योग वाणिज्य महासंघले निजीक्षेत्रको मात्र ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ ।

उक्त क्षतिबाट प्रभावितलाई राहत दिन आइतवार बसेको मन्त्रिपरिषद् बैठकले पुनर्निर्माणका लागि आयात गरिने सामग्रीमा भन्सार छूट दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए । आन्दोलनका क्रममा प्रभावित उद्योग, व्यापारिक प्रतिष्ठान, व्यावसायिक प्रतिष्ठान र आर्थिक गतिविधिलाई तत्काल सुचारु गर्न नेपाल राष्ट्र बैंक र बीमा कम्पनीहरूले विभिन्न किसिमका राहत र सुविधाका कार्यक्रम शुरू गर्ने निर्णय बैठकले गरेको छ ।

बीमा कम्पनीहरूले क्षतिको ५० प्रतिशतसम्म रकम अग्रिम रूपमा दिनुपर्ने व्यवस्था बीमा प्राधिकरणले गर्ने निर्णय लिइएको गृहमन्त्री अर्यालले जानकारी दिए । बीमा प्राधिकरणका अनुसार भदौको अन्तिमसम्म २० अर्ब ७० करोड रुपैयाँ बराबरको दाबी परेको छ । नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्रबहादुर बैदवार क्षत्रीले ठूलो क्षति बेहोर्ने बीमितबाट दाबी आइसकेकाले अब धेरै दाबी पर्ने सम्भावना कम रहेको बताए ।

यस्तै, निर्वाचन र पुनर्निर्माणका लागि स्रोत जुटाउन सरकारले ३ करोड रुपैयाँभन्दा कम लागतका टुक्रे आयोजना रोक्का गर्ने निर्णय गरेको छ ।

गृहमन्त्री अर्यालका अनुसार ३ करोड रुपैयाँभन्दा माथिका तर आयोजना बैंकमा प्रविष्ट नभएका वा एलएमबीआईएसमा प्रविष्ट गरेर आयोजना बैंकमा पछि राखिएका वा राजनीतिक दबाबमा राखिएका आयोजना रोक्का राख्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।

यसबाट चालू खर्चसहित १ खर्ब २० अर्ब रुपैयाँ बराबर रकम बच्न सक्नेछ । रोक्का राखिएको रकमबाट पहिला काम गरिसकेको तर निर्माण व्यवसायीको भुक्तानी दिन बाँकी रहेको भए भुक्तानी दिन सकिने गरी निर्णय भएको छ ।

यसबाट राष्ट्रिय गौरव र ठूला आयोजनाको काम द्रुत गतिमा अगाडि बढाउन रकम उपयोग गरिनेछ ।
मन्त्रिपरिषद् बैठकले सरकारले पुनर्निर्माण कोष खडा गर्ने निर्णयसमेत गरेको छ । यसमा नेपालभित्र र बाहिरबाट योगदान गर्न सकिनेछ । बैंक तथा वित्तीय संस्था, औद्योगिक प्रतिष्ठानले सीएसआरको रकम राख्न पाउने र त्यसमा कर कट्टीसमेत गर्न सकिने निर्णय भएको गृहमन्त्री अर्यालले बताए । यो परिचालन गर्न भौतिक पूर्वाधार पुनर्निर्माण समितिसमेत बनाइने भएको छ ।

मन्त्री अर्यालका अनुसार आन्दोलनका क्रममा क्षतिग्रस्त सवारीसाधन र मेशिन उपकरणहरूलाई ‘कवाडी’का रूपमा लिलाम विक्री गर्ने निर्णय पनि सरकारले गरेको छ ।

1

Scroll to Top