नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैंमा यस वर्ष काठमाडौं उपत्यकामा मासु खपत घट्ने सम्बद्ध निकाय र व्यवसायीहरुले अनुमान गरेका छन् । दशैंका बेला उपत्यका छोड्नेको संख्या बढ्नुका साथै हालैको जेनजी आन्दोलनका कारण सिर्जना भएको विषम वातावरणले पनि मासु खपतमा असर गर्ने देखिएको हो ।
आन्दोलनका क्रममा तोडफोड तथा आगजनीसँगै धेरै युवाले ज्यान गुमाउनु परेकाले राजधानीमा अघिल्ला वर्षजस्तो चहलपहल नहुने व्यवसायी र सरकारी निकायको भनाइ छ । यस्तो परिस्थितिमा काठमाडौंमा मासु खपत घट्ने अनुमान गरिएको हो ।
पशु सेवा विभागका अनुसार गत वर्षको दशैंमा काठमाडौं उपत्यकामा ५५ देखि ६० हजार खसीबोका खपत भएका थिए । तर यस पटक दशैंमा ५० देखि ५५ हजारमात्र खपत हुने देखिएको छ ।
राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालयका प्रमुख डा. चन्द्र ढकालका अनुसार दशैंमा उपत्यका बाहिरने चाप बढ्नुका साथै आन्दोलनले सिर्जना गरेको असामान्य अवस्थाले मासु खपत घट्ने अनुमान गरिएको हो । उनका अनुसार यो वर्ष देशभर १ करोड ५१ लाख बाख्रा छन्, जुन गत वर्षको तुलनामा बढी हो । कुल संख्याको झण्डै ३६ प्रतिशत अर्थात् ५४ लाख मासुमा खपत हुने गरेको तथ्यांक छ ।
यस वर्ष दशैंमा देशभर ३० लाख खसीबोका खपत हुने अनुमान गरिएको छ । काठमाडौं उपत्यकामा वार्षिक ५ लाख खसीबोका खपत भए पनि दशैंको एक हप्तामा मात्र ५० देखि ५५ हजारसम्म खपत हुने तथ्यांक छ । ढकालका अनुसार उत्पादन बढेसँगै किसानले मूल्य नपाएको गुनासो गरेका छन् । अहिले जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो पाँच सयदेखि सात सय रुपैयाँ मात्र पाइरहेका छन् ।
नेपाल माछामासु व्यवसायी संघका अध्यक्ष रमेश खड्गीले पनि यस वर्ष उपत्यकामा मासु खपत घट्ने प्रक्षेपण गरे । उनका अनुसार गत वर्ष दशैंमा काठमाडौंमा ५० देखि ५५ हजार खसीबोका खपत भए पनि यस पटक ४५ हजारसम्म पनि नपुग्ने सम्भावना छ । मासुको मूल्य भने गत वर्षकै जस्तै रहनेछ । गत वर्ष जिउँदो खसीबोका प्रतिकिलो पाँच सयदेखि सात सय रुपैयाँसम्ममा बिक्री भएको थियो भने मासुको मूल्य प्रतिकिलो १ हजार ४ सय रुपैयाँ थियो ।
कुखुराको मासु भने निरन्तर बढ्दो खपतमा छ । काठमाडौंमा दैनिक ५ देखि ६ लाख किलोसम्म कुखुराको मासु खपत हुन्छ । त्यस्तै, राँगाको मासु सामान्यतया दैनिक ७–८ सय किलो खपत भए पनि दशैंमा २ हजार ५ सय किलोसम्म पुग्ने गरेको छ ।
नेपालमा पछिल्लो समय बाख्रापालन बढेकाले खसीबोकामा करिब २५ प्रतिशत मात्रै भारतबाट आयात हुन्छ । कुखुरा, माछा र खसीबोकामा नेपाल लगभग आत्मनिर्भर भइसकेको छ भने राँगा मासुमा अझै ६५ प्रतिशत भारतमै निर्भर रहनु परेको छ ।
यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने दशैंका लागि खसीबोका र च्यांग्रा बिक्री नगर्ने निर्णय गरेको छ । कम्पनीले १ हजार ३ सय ८३ वटा खसीबोका र च्यांग्रा खरिद गर्ने तयारी गरेको भए पनि जेनजी आन्दोलनले ल्याएको अनिश्चितताका कारण बिक्री नगर्ने निर्णय गरिएको हो ।


