हालै भएको जेनजी आन्दोलनका कारण देशको कुल गार्हस्थ उत्पादन (जिडिपी)मा करिब ५ प्रतिशत क्षति पुगेको अनुमान गरिएको छ । आन्दोलनका क्रममा निजी र सार्वजनिक संरचनामा व्यापक क्षति पुगेपछि उत्पादनशील क्षेत्रमा प्रत्यक्ष असर परेको आकलन गरिएको हो ।
नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानसम्बन्धी छलफल कार्यक्रममा प्रस्तुत विवरणअनुसार लगानीकर्ताको मनोबल कमजोर बनेको र लगानी सुरक्षित राख्ने वातावरणमा चुनौती थपिएको देखिएको छ । उद्योग र व्यवसायलाई संरक्षण गर्न तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता छलफलमा जोड दिइयो ।
विशेषज्ञहरुले वित्तीय र मौद्रिक नीतिबाट सहुलियत दिने, ठूला उद्योगका लागि निश्चित समयसम्म कर तथा लगानी सुरक्षामा छुट उपलब्ध गराउने र शिक्षा प्रणालीमा सुधार गरेर दीर्घकालीन रणनीति बनाउनुपर्ने सुझाव दिएका छन् ।
यस्तै, आन्दोलनका कारण केही संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) रोकिएको र प्राथमिकताका क्षेत्रमा ऊर्जा, पर्यटन, शिक्षा तथा कृषि क्षेत्रमा तत्काल काम अघि बढाउनुपर्ने आवश्यकता औंल्याइएको छ ।


