पिपुल्स पावर लिमिटेडले लिलामीमा विक्री गरेको ३ लाख ९१ हजार ७७९ कित्ता अवितरित हकप्रद शेयर बाँडफाँट भएको छ ।
कम्पनीले गत असार २२ देखि साउन २६ गतेसम्म ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दा उल्लेखित कित्ता हकप्रद शेयर भने वितरण हुन सकेको थिएन ।
अवितरित हकप्रद शेयर विक्रीका लागि भदौ १५ देखि २२ गतेसम्म शिलबन्दी बोलपत्र माग गरिएको थियो । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र भदौ ३० गतेका लागि खोली कम्पनीको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले बाँडफाँट गरेको हो ।
बाँडफाँटको अन्तिम मूल्य अर्थात् कट अफ मूल्य प्रतिकित्ता २६१ रुपैयाँ ५० पैसा रहेको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जानकारी दिएको छ । उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरूको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रूपमा बाँडफाँट गरिएको हो ।
यो बाँडफाँटमा नपरेको शेयरबापतको रकम असोज ७ गतेदेखि आवेदकहरूको बैंक खातामा रकमान्तर गरिने जानकारी कम्पनीले दिएको छ । ५० प्रतिशत हकप्रद शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ९४ करोड ८९ लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीले आयोजना निर्माणका लागि लिइएको कर्जा भुक्तानीका लागि र नयाँ आयोजना निर्माणका लागि खर्च जुटाउन हकप्रद शेयर विक्री गरेको हो ।


