अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र नेपालका लागि जनगणतन्त्र चीनका राजदूत महामहिम चेङ्ग सोङ्गले मंगलबार छुट्टाछुट्टै शिष्टाचार भेट गरेका छन्। उक्त अवसरमा नेपाल–भारत व्यापार सहजीकरण र चीनसँगको आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ।
भारतीय राजदूतसँगको भेटमा अर्थमन्त्री खनालले नेपाल–भारतबीचको लामो सम्बन्धको चर्चा गर्दै भारतले नेपाललाई पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले विद्यमान परिस्थितिमा छिमेकी मुलुकलगायत दातृ मुलुकसँग आर्थिक साझेदारीलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए ।
सो अवसरमा भारतीय राजदूत श्रीवास्तवले भारत नेपालको सबैभन्दा नजिकको छिमेकी भएको उल्लेख गर्दै नेपाललाई सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भारतीय सहयोगमा सञ्चालित विकास आयोजना र कार्यक्रमलाई तीव्रता दिने, नेपालमा लगानी गरिरहेका भारतीय निजी क्षेत्रलाई सहज वातावरण सिर्जना गर्ने तथा व्यापार सहजीकरणका लागि दुबै मुलुकबीच समन्वय सुदृढ गर्ने विषयमा समेत जानकारी दिए।
यस्तै चीनका राजदूतसँगको भेटमा अर्थमन्त्री खनालले चीन नेपालका लागि असल छिमेकी भएको उल्लेख गर्दै नेपालमा चीनले पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको बताउँदै चीनसँगको आर्थिक साझेदारीलाई निरन्तरता दिने धारणा राखे। साथै बैंकिङ क्षेत्रमा सहकार्य विस्तार गर्ने, नेपालमा चिनियाँ बैंकको शाखा स्थापना गर्ने, निर्यात भुक्तानी सरलीकरण गर्ने र चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्न आग्रह गरे ।
सो अवसरमा राजदूत चेङ्ग सोङ्गले चीनले नेपाली जनताको छनोटलाई सधैँ सम्मान गर्दै आएको उल्लेख गर्दै नेपालप्रति सहयोग निरन्तर रहने बताए। उनले चीनको सहयोगमा निर्माणाधीन परियोजनाहरू सन्तोषजनक रूपमा अगाडि बढिरहेको जानकारी दिँदै लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक रहेको तथा परिस्थिति अनुकूल भएपछि छुट्टै अन्तर्क्रिया गर्ने तयारी गरिएको जानकारी दिए।


