Banijya News

प्रतिनिधिसभा चुनावमा झण्डै पाँच अर्ब रुपैयाँ खर्च हुने, कसरी जुटाईदै छ खर्च ?

1
1.3K Shares

जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले संसद् विघटन गरी नयाँ निर्वाचनको मिति घोषणा गरेसँगै प्रतिनिधिसभा चुनावको तयारी तीव्र बनेको छ। सरकारले आगामी फागुन २१ गते चुनाव गर्ने निर्णय गरेको छ भने निर्वाचन आयोगले आवश्यक तयारी अघि बढाइसकेको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आयोगले चुनाव सम्पन्न गराउन चाहिने सामग्री पहिचान गर्ने र कानुनी व्यवस्थासम्बन्धी आवश्यक तयारी गरिरहेको छ। यस क्रममा आयोगले भदौ ३१ गते गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफलसमेत गरेको थियो। गृहमन्त्री अर्यालले आवश्यक कानुनी अड्चन अध्यादेशमार्फत फुकाउने आश्वासन दिएका छन्।

आयोगले मतदाता नामावली, दल दर्ता, विदेशस्थित नेपालीलाई मतदान अधिकार, कार्यक्षेत्रबाट मतदानजस्ता विषय कानुनी चुनौतीका रूपमा देखिएको जनाएको छ। यसैअनुसार ऐन संशोधनको प्रक्रिया सुरु भइसकेको र कार्यतालिका पनि संशोधनपछि सार्वजनिक गरिने जानकारी दिइएको छ।

आगामी निर्वाचनमा युवाको सहभागिता सुनिश्चित गर्न सरकारको विशेष प्राथमिकता रहेको छ। मतदाता नामावली संकलन पनि त्यही आधारमा हुने आयोगले स्पष्ट पारेको छ। त्यस्तै, नयाँ दललाई दर्ता गर्ने अवसर दिन कानुनी संशोधन आवश्यक हुने आयोगले जनाएको छ।

आयोगका अनुसार अघिल्लो निर्वाचनमा प्रयोग भएका सामग्री अझै प्रयोगयोग्य अवस्थामा रहेकाले आवश्यक वस्तुमा ठूलो अभाव नपर्नेछ। यसपटक १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी २७५ सिटका लागि चुनाव हुनेछ। तर, राजनीतिक दलहरूसँग समन्वय, सुरक्षाको चुनौती र खर्च व्यवस्थापन प्रमुख चुनौतीका रूपमा रहेको आयोगका अधिकारीहरूको भनाइ छ।

पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आन्दोलनपश्चातको यो चुनाव फरक परिवेशमा हुने भएकाले सरकार स्पष्ट निर्देशका साथ अघि बढ्नुपर्ने सुझाव दिएका छन्। उनका अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको मागलाई सम्बोधन गर्ने वा अहिलेको व्यवस्थाअनुसार चुनाव गर्ने भन्नेबारे सरकार स्पष्ट हुनु जरुरी छ।

निर्वाचन आयोगले फागुनमा हुने प्रतिनिधिसभा चुनाव सम्पन्न गर्न करिब पाँच अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ। यसअघि प्रदेशसभा र प्रतिनिधिसभा सँगै हुँदा करिब सात अर्ब रुपैयाँ खर्च भएको थियो।

आयोगका अनुसार यसपटक सुरक्षा व्यवस्थामा बढी खर्च हुनेछ। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा गाडी, भवन र अन्य संरचनामा क्षति पुगेकाले सुरक्षात्मक तयारीमा ठूलो बजेट आवश्यक पर्ने देखिएको छ।

सूचना अधिकारी सुमन घिमिरेका अनुसार अर्थमन्त्री रामेश्वर खनालले निर्वाचन खर्च आन्तरिक स्रोतबाट नै व्यवस्थापन गर्ने आश्वासन दिएका छन्। चालु आर्थिक वर्षको बजेट खर्चको सुरुवाती चरण भएकाले खर्च जुटाउन समस्या नहुने र आवश्यक परे विविध शीर्षकमा छुट्याइएको रकम कटौती गरेर निर्वाचनमा प्रयोग गर्ने तयारी गरिएको हो।

र्थमन्त्री रामेश्वर खनालका अनुसार निर्वाचन खर्च आन्तरिक स्रोतमै भर पर्नेजस्तो देखिएको छ। चालु आर्थिक वर्षको बजेटमा विभिन्न शीर्षकमा छुट्याइएको रकम कटौती गरी निर्वाचनमा प्रयोग गरिने भएको हो।

सबैभन्दा पहिले, व्यक्तिको भ्रमण खर्च, अतिथि स्वागत, आर्थिक सहायता र भैपरी आउने शीर्षकमा छुट्याइएको करिब ८० अर्ब रुपैयाँमध्ये केही रकम कटौती गर्ने तयारी गरिएको छ। यसरी कटौती भएको रकमलाई निर्वाचन खर्चतर्फ मोडिनेछ।

त्यसैगरी, अनुत्पादक र साना–साना शीर्षकका खर्च घटाउने सरकारको नीति छ। परामर्श सेवा, तालिम–गोष्ठी, अनावश्यक भत्ता, र पदाधिकारीका अतिरिक्त सुविधा रोक्ने निर्णयसँगै त्यहाँ बचत भएको रकम पनि निर्वाचन खर्चमा प्रयोग गरिनेछ। तर, सुरक्षा व्यवस्थापन भने मुख्य खर्चिलो क्षेत्र हुने देखिएको छ।

1

Scroll to Top