Banijya News

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा २० वटा, ६ वटा केबलकार पनि सूचीमा

1
1.2K Shares

सरकारले २० वटा परियोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको सूचीमा समावेश गरेको छ, जसमा निजी क्षेत्रले निर्माण गर्न लागेका ६ वटा केबलकार पनि परेका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार विभिन्न औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह र पेट्रोलियम पाइपलाइन लगायतका परियोजनाले यो सूचीमा स्थान पाएका हुन्।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले जेनजी आन्दोलनबाट विस्थापित हुनुअघि यी परियोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको सूचीमा राख्ने निर्णय गरेको थियो। अब यो सूची राजपत्रमा प्रकाशित भएसँगै ती परियोजनाले राज्यबाट विभिन्न सुविधा र सहुलियत प्राप्त गर्नेछन्। यसले परियोजना निर्माणमा आउने कुनै पनि समस्याको समाधान गर्न राज्यले अग्रसरता लिनेछ।

राष्ट्रिय प्राथमिकता प्राप्त सूचीमा रहेका औद्योगिक ग्रामहरूमा बराहक्षेत्र (सुनसरी) र जोरायल (डोटी) औद्योगिक ग्राम रहेका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अन्तर्गत दमक (झापा), मयुरधाप (मकवानपुर), शक्तिखोर (चितवन), लक्ष्मीपुर (दाङ), मोतीपुर (रुपन्देही), नौवस्ता (बाँके) र दैजी (कञ्चनपुर) औद्योगिक क्षेत्रहरू पनि यो सूचीमा परेका छन्।

विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गतका पाँचखाल (काभ्रे) र हरैया (कैलाली) विशेष आर्थिक क्षेत्रले पनि प्राथमिकता पाएका छन्। साथै, दोधारा चाँदनी सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी (कञ्चनपुर) पनि सूचीमा समावेश गरिएको छ।

यसैगरी, नेपाल आयल निगम अन्तर्गतका भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन तथा ग्रिन फिल्ड टर्मिनल निर्माण आयोजना र अमलेखगन्जदेखि लोथरसम्मको पेट्रोलियम पाइपलाइन विस्तार आयोजना पनि यो सूचीमा रहेका छन्।

निजी क्षेत्रका ६ वटा केबलकार परियोजनालाई पनि प्राथमिकता दिइएको छ। ती परियोजनामा सत्यवती दर्शन (पाल्पा), सानो पाथीभरा (इलाम), सिक्लेस अन्नपूर्ण (कास्की), ड्रिम्स हिल्स (चितवन/नवलपरासी), सुपा देउराली (अर्घाखाँची) र सूर्यकुण्ड गोसाइँकुण्ड (सिन्धुपाल्चोक) केबलकार रहेका छन्।

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा पर्ने परियोजनाले वन क्षेत्र प्रयोगको स्वीकृति, निर्माण सामग्री तथा यन्त्रहरूको आयातमा छुट र राज्यबाट सुरक्षा व्यवस्था लगायतका सुविधा पाउनेछन्। यी आयोजनाहरू मन्त्रिपरिषद्को निर्णयअनुसार राजपत्रमा प्रकाशित भएका हुन्।

1

Scroll to Top