राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले जेनजी आन्दोलनको क्रममा आफ्नो उपस्थिति राजनीतिक लाभका लागि नभई घाइतेहरूको उपचार र शान्तिपूर्ण प्रदर्शनको समर्थनमा केन्द्रित रहेको बताएकी छन् ।
आन्दोलनको दिन सिंहदरबारमा संसदीय समिति बैठकमा सहभागी भइरहेका बेला देशमा कर्फ्यू लागेको र १३ जनाभन्दा बढीको मृत्यु भएको खबर आएपछि बैठक रोकिएको डा. कार्कीले बताइन् । ‘त्यस्तो समयमा राजनीति दोस्रो हुन्छ, मेरो पेसा, मेरो धर्म र समाजसेवा नै मुख्य हो भन्ने ठानेर म तत्काल सिभिल अस्पतालतर्फ लागें,’ उनले भनिन् ।
आन्दोलनको दोस्रो दिन अस्पतालभित्रै गोली प्रहार भएको र डाक्टर तथा गार्डहरूमाथि पनि लाठीचार्ज भएको उनको भनाई छ । ‘मैले सकेसम्म त्यो घटनालाई खबरदारी गर्ने र जे सकिन्छ, त्यो गर्ने प्रयास गरें,’ उनले भनिन् ।
परिस्थिति यति भयावह थियो कि सेना र प्रहरी समेत पछि हटेको अवस्थामा एक्लैले हिंसा रोक्न नसके पनि उनले दुवै पक्षलाई ढुंगा तथा गोली नचलाउन आग्रह गरेको उल्लेख गरिन् । उनले भनिन्, ‘तपाईंहरूले जति ढुंगा हान्नुहुन्छ, म तपाईंसँगै छु, मलाई पनि गोली लाग्छ । शान्तिपूर्ण तरिकाले पनि गर्न सकिन्छ भनेर मैले मेरो तर्फबाट सकेको गरें ।’
डा. कार्कीले प्रधानमन्त्रीले राजीनामा दिएर स्वीकृत भएपछि संसद भवनभित्र आन्दोलनले निकास पाएकोमा खुसी व्यक्त गरिएको प्रसङ्ग समेत उल्लेख गरिन् । उनले भनिन्, ‘यो आन्दोलन हाम्रो आन्दोलन हो, यो मुद्दा हाम्रो मुद्दा हो, हामी सरिक हुनुपर्छ भनेर म उहाँहरूसँगै हिँडेको पनि हो, उहाँहरूसँगै घाइते हुनुहुनेहरूको उपचार गर्ने, अस्पतालमा लैजाने काममा मेरो विशेष खटाइ थियो ।’
उनले आफ्नो उपस्थिति शान्तिपूर्ण प्रदर्शन र घाइतेहरूको सेवामा मात्र केन्द्रित रहेको बताउँदै राजनीतिक दलको जिम्मेवार सदस्यको रूपमा त्यस्तो अवस्थामा टुलुटुलु हेरेर बस्न नसक्ने अडान व्यक्त गरिन् ।


