नेपालीको महान पर्व दशैंको उल्लास सुरु भएसँगै यस वर्ष मौसमले साथ नदिने देखिएको छ। जल तथा मौसम विज्ञान विभागले दशैंको फूलपातीदेखि नै देशका अधिकांश स्थानमा लगातार पानी पर्ने पूर्वानुमान गरेको छ, जसले दशैंलाई “हिले दशैं” बनाउने सम्भावना बढेको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले नागरिकलाई बताएअनुसार, हाल मनसुन कमजोर भए पनि फूलपातीको दिनदेखि मनसुनी वायु र स्थानीय वायुको प्रभाव पुनः सक्रिय हुनेछ। उनले भनिन्, “ठूलो वर्षाको सम्भावना कम रहे पनि लगातार सिमसिमे पानी परिरहने छ।” यो वर्षा अक्टोबर २ देखि ७ (असोज १६ देखि २१) सम्म सक्रिय रहनेछ।
यात्रामा पहिरोको जोखिम
यस वर्षको दशैंमा यात्रा गर्नेहरूका लागि भने सावधानी अपनाउनुपर्ने देखिएको छ। लगातारको झरीले देशका विभिन्न स्थानमा पहिरोको जोखिम बढ्ने सम्भावना रहेकोले यात्रा गर्दा सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।
पूर्वी र मध्य नेपालमा बढी प्रभाव
मौसमविद्का अनुसार, मनसुनको प्रभाव विशेषगरी पूर्वी नेपालमा बढी सक्रिय हुनेछ भने मध्य नेपालमा स्थानीय वायुको प्रभाव बढ्नेछ। यस वर्ष बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव पनि बढी देखिएकाले दशैंभरि झरी पर्ने सम्भावना बढेको हो।


