बडादसैँ अन्तर्गत नवरात्रको छैटौँ दिनमा आज देवी कात्यायनीको पूजा आराधना गरिँदै छ। अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा पूजा गरिने कात्यायनी देवीलाई धर्म, न्याय र नारी सशक्तीकरणको प्रतीक मानिन्छ। पौराणिक मान्यता अनुसार, महर्षि कात्यायनको तपस्याबाट प्रसन्न भएर भगवती उनकै पुत्रीका रूपमा जन्मिएकी थिइन्, जसकारण उनी कात्यायनी नामले परिचित भइन्। पुराणमा उल्लेख भएअनुसार, ब्रह्मा, विष्णु र महेशको तेजबाट उत्पन्न भएकी कात्यायनीले महिषासुरको संहार गरेर त्रिलोकलाई भयमुक्त पारेकी थिइन्। विश्वास गरिन्छ कि आजको दिनमा कात्यायनीको पूजा गर्नाले रोग, शोक, भय र दरिद्रता नाश भई प्रगतिको मार्ग खुल्छ। यसैगरी, उनको आराधनाबाट अर्थ, धर्म, काम र मोक्षसमेत प्राप्त हुने धार्मिक विश्वास छ।
पूजनका लागि आवश्यक सामग्री र विधि
यस दिनको पूजाका लागि देवीको प्रतिमा वा चित्र, रातो कपडाको आसन, रातो फूल वा कमल फूल, कलश, नरिवल, पञ्चपल्लव, शुद्ध जल, अक्षता, दुबो, पान, सुपारी, बेसार, फलफूल, नैवेद्य, धूप, बत्ती, चन्दन, अबिर, पञ्चामृत र आरतीको थाल जस्ता सामग्रीहरू तयार पार्नुपर्छ। पूजा विधि अनुसार, बिहान शुद्ध भई रातो कपडा लगाएर पूजा कोठा सफा गरी कलश स्थापना गर्नुपर्छ। त्यसपछि देवीको प्रतिमा राखी दियो बालेर पूजा प्रारम्भ गरिन्छ। देवीलाई सौभाग्यसुत्र, चन्दन, सिन्दूर, बेसार, दुबो, बेलपत्र, आभूषण, पुष्प, सुगन्धित द्रव्य, धूप, बत्ती र नैवेद्य चढाएर ‘ॐ देवी कात्यायन्यै नमः’ मन्त्रको जप गर्नुपर्दछ। मन्त्रोच्चारणपछि आरती गरी प्रसाद वितरण गरेर पूजा सम्पन्न गरिन्छ। काठमाडौँ उपत्यकासहित देशभरका शक्तिपीठहरू-गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती र भद्रकालीमा आज विशेष पूजा आराधना भइरहेको छ।


