अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या रायले आफ्नो डीपफेक भिडिओलाई लिएर युट्युब र गुगलविरुद्ध दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका छन्। यस मुद्दामा उनीहरूले आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनमा परेको नकारात्मक असरलाई लिएर अदालतसँग करिब ४ करोड भारतीय रुपैयाँको क्षतिपूर्ति माग गरेका छन्।
दम्पतीले दायर गरेको करिब १५०० पृष्ठको याचिकामा युट्युबमा रहेका सयौँ लिङ्क र स्क्रिनसटहरू समावेश छन्, जसमा उनीहरूको छवि, अनुहार र आवाजको दुरुपयोग गरी विभिन्न झूटो, अपमानजनक र भ्रामक सामग्रीहरू बनाइएको छ।
उनीहरूले यस्ता भिडिओले आफ्नो व्यक्तिगत मात्र नभएर व्यावसायिक प्रतिष्ठामा पनि गम्भीर चोट पुगेको र आफ्नो गोपनीयताको अधिकारमा पनि गम्भीर उल्लङ्घन भएको दाबी गरेका छन्। यस विषयमा दिल्ली उच्च अदालतले कडा कदम चाल्दै गुगललाई नोटिस जारी गरी लिखित जवाफ दिन आदेश दिएको छ।
यस मुद्दाको अर्को सुनुवाइ जनवरी १५, २०२६ मा हुनेछ। यसअघि पनि अभिषेक र ऐश्वर्याले आफ्नो व्यक्तित्व अधिकार र प्रचार अधिकारको सुरक्षाका लागि अदालतमा याचिका दायर गरी राहत पाएका थिए।


