नेपाल पर्यटन बोर्डले हाल नेपालमा करिब २० हजार विदेशी पर्यटक काठमाडौँसहित देशभरका विभिन्न क्षेत्रमा रहेको जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागको अनुमानअनुसार देशभर जारी भारी वर्षा सोमबारसम्म निरन्तर रहने देखिएकाले पर्यटकहरूको सुरक्षा तथा सहयोगमा स्थानीय समुदाय, पर्यटन व्यवसायी र सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
बोर्डले शनिबार विज्ञप्ति प्रकाशन गर्दै विशेष गरी स्थानीयलाई पर्यटकलाई खाना, बास र आवश्यक सहयोग उपलब्ध गराउन र मूल्यवृद्धि नगरी सहयोगी भाव देखाउन अपिल गरेको छ ।
पर्यटन बोर्डले विदेशी नागरिकलाई नेपालको कानुन अनुसार दर्ता भएका ट्राभल कम्पनी र लाइसेन्स प्राप्त गाइडसँग मात्र यात्रा गर्न, यात्रापूर्व गन्तव्य र सडक अवस्थाको जानकारी लिन र समस्या परेमा पर्यटन संकट हटलाइन ९११४४० मा सम्पर्क गर्न भनेको छ ।
साथै, टुर अपरेटरहरुलाई निरन्तर यात्रुहरूलाई जानकारी दिन, चालक–गाइडसँग सम्पर्कमा रहन र उद्धार सम्पर्कहरू तयार राख्न निर्देशन दिइएको छ । निरन्तर वर्षासँगै पहिरो, बाढी, आकस्मिक हिमपात र सडक अवरुद्ध हुने जोखिम बढेको छ ।


