अविरल वर्षापछि आएको बाढीले झापामा यस वर्ष बितन्डा मच्चाएको छ । ठूलो बाढी आउँदा यस वर्ष करिब ३५ सय घरधुरीका २५ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।
शनिबार र आइतबार इलाम र झापामा १५० मिलिमिटरभन्दा बढी पानी पर्दा कनकाई माई र मेची नदीले खतराको लेभल नै पार गरेको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार कनकाईको जलस्तर ५.६१ मिटर पुगेको थियो । कनकाईको सचेतना स्तर ३.८ मिटर र खतरा स्तर ४.३ मिटर हो ।
कनकाईको जलस्तर २०७४ सालमा ५.४ मिटर पुगेकोमा यस वर्ष त्यसलाई समेत नाघ्दा क्षति धेरै भएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए । त्यस्तै, मेची नदीको जलस्तर ११४.८४ मिटर पुगेको थियो । मेचीको सचेतना ११३.८ मिटर र खतरा स्तर ११४.३ मिटर हो । ०७४ सालभन्दा पनि भयावहको अवस्था देखियो, सभापति ढकालले भने, ‘झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाका मानिस सबैभन्दा बढी विस्थापित भएका छन् ।’
कनकाई माई नदीमा आएको बाढी तटीय क्षेत्रका बस्तीहरू छिर्दा त्यहाँका सयौं घर डुबान परेको छ । झापा गाउँपालिका १, २ र ७ वडाका मात्रै करिब १५ सय घरका ६ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ । झापा १ मिलन बस्तीका ८० घरका २ सय मानिसलाई नेपाली सेनाको हेलिकप्टर र चारवटा बोटले उद्धार गरी सुरक्षित स्थानमा सारिएको उनले बताए । ‘झापा गाउँपालिकामा जता त्यतै पानी नै पानी छ, घरहरू डुबानमा परेको छ, यहाँ ठूलै भौतिक क्षति भएको छ,’ उनले थपे । बाढी कारण शिवसताक्षी नगरपालिका–४ का ७ घर, शिवसताक्षी–५ का ५ घर, शिवसताक्षी–६ का २७ घर, शिवसताक्षी–७ का ८ घर, गौरीगञ्ज गाउँपालिका–१ का १४४ घर, अर्जुनधारा नगरपालिका–७ का एक घर विस्थापित भएका छन् ।कनकाई नदीले गौरीगञ्ज गाउँपालिका–२ अन्तर्गत हुलाकी राजमार्गको तल्लो तटीय दायाँ किनारमा करिब २०० मिटर तटबन्ध कटान गरेको छ । तटबन्ध कटान गर्दा होकलबारी गाउँको करिब ११४ घरबारी डुबानमा परेको छ भने ५०० हेक्टर धान खेतमा क्षति भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार १ हजार ५०० मिटर तटबन्ध कटान गर्दा करिब १० करोड बराबरको क्षति भएको जनाएको छ ।
त्यस्तै गौरीगञ्ज गाउँपालिका–२ का पिण्डलघुटु २१ घर, गौरीगञ्ज–२ आपगाँछीका २१ घर, गौरादह–५ कटकपुर सुकुम्बासी बस्तीका ३१ घर, भद्रपुर नगरपालिका–५ देवीबस्तीका १२ घर, भद्रपुर–५ राई टोलका १५ घरका मानिस विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । त्यस्तै झापा गाउँपालिका–२ को कुवाडीमा अनुमानित २०० मिटर तटबन्ध कटान गरी करिब २५ हेक्टर जग्गामा क्षति भएको छ । यसबाट अनुमानित ७५ लाख रुपैयाँ क्षति भएको छ । मेची नदीले ठाउँ–ठाउँमा रहेका स्परहरू भत्काउँदा करिब ५० लाख रुपैयाँ बराबरको क्षति मन्त्रालयले जनाएको छ ।


