ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र सहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरण मातहतको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गरेका छन्। काठमाडौँको स्यूचाटारस्थित केन्द्रको सोमबार साँझ अनुगमन गरी मन्त्री घिसिङले देशभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, निर्यात र बाढी पहिरोबाट क्षति भएका आयोजनाहरूबारे जानकारी लिए। देशका विभिन्न ठाउँबाट छिनछिनमा बत्ती जाने गरेको जनगुनासो आइरहेको भन्दै प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत रहेका मन्त्री घिसिङले विद्युत् प्रणालीलाई अझ भरपर्दो, गुणस्तरीय, सुरक्षित र आधुनिक बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीतिगत एवम् प्राविधिक सुधारका विषयमा छलफल गरे। उनले बाढी, पहिरोले क्षति पुर्याएका संरचनाको तत्काल मर्मतसम्भार गरी विद्युत् सेवा चालू गराउन र छिनछिनमा बत्ती जाने गुनासो सम्बोधनलाई उच्च प्राथमिकतामा राख्न प्राधिकरण व्यवस्थापनलाई आग्रह गरे। घिसिङले विद्युतगृह, प्रसारण लाइन तथा सबस्टेसनलाई पूर्ण क्षमतामा चलाउन, महत्त्वपूर्ण मानिएका मर्स्याङ्दी करिडोर २२० केभी र हेटौंडा—ढल्केबर ४०० केभी प्रसारण निर्माणमा विशेष ध्यान दिन र आगामी हिउँदयामको विद्युत् व्यवस्थापनमा लाग्न निर्देशन दिए।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल र केन्द्रका निर्देशक चन्दन कुमार घोषले विद्युत् उत्पादन, माग, आपूर्ति, निर्यात र प्रणाली सञ्चालनको अवस्थाबारे जानकारी गराएका थिए। कार्यकारी निर्देशक सिलवालले बाढी, पहिरोले क्षति पुर्याएका संरचना मर्मत गरी विद्युत् सेवा चालू गराउन टोली तयारी अवस्थामा राखी सोहीबमोजिम काम भइरहेको जानकारी दिए। यसैबीच, प्राधिकरणका कार्यकारी निर्देशक सिलवालले देश भित्र खपत गरी अतिरिक्त भएको दैनिक औसतमा एक हजार मेगावाट विद्युत् निर्यात भइरहेको बताए। चालू आर्थिक वर्ष २०८२–८२को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको छ। विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज ९आइएक्स०को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन सम्झौता बमोजिम भारतका हरियाणा र बिहार राज्यमा बिक्री भइरहेको छ। भारतको प्रसारण संरचनाको प्रयोग गरी बङ्गलादेशमा पनि दैनिक ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ, जसबाट प्राधिकरणले भारु र डलर आम्दानी गरिरहेको छ। प्राधिकरणले भारत र बङ्गलादेश गरी कुल १ हजार १६५ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ।


