Banijya News

पछिल्लो दुई महिनामा १५ अर्ब बराबरको विद्युत् निर्यात

1
1.1K Shares

चालू आर्थिक वर्ष ०८२/८२ को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रूपमा औसतमा एक हजार मेगावाट निर्यात भइरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र बिहार राज्यमा बिक्री भइरहेको छ । भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि दैनिक रूपमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ ।

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा र बंगलादेशसँग अमेरिकी डलरमा हुने गरेको छ । त्यसैले विद्युत् बिक्रीबाट भारु र डलर आम्दानी भइरहेको छ । प्राधिकरणले भारत र बंगलादेश गरी एक हजार एक सय ६५ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ ।

ऊर्जामन्त्री कुलमान घिसिङले विद्युत्भार प्रेषण केन्द्र अनुगमन गरेका छन् । देशका विभिन्न ठाउँबाट छिनछिनमा बत्ती जाने गरेको गुनासो आइरहेको भन्दै प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत रहेका मन्त्री घिसिङले विद्युत् प्रणालीलाई अझ गुणस्तरीय बनाउन आवश्यक नीतिगत एवं प्राविधिक सुधारका विषयमा छलफल गरेका छन् ।

घिसिङले छिनछिनमा बत्ती जाने गुनासो तत्काल सम्बोधनलाई उच्च प्राथमिकतामा राखी सोहीबमोजिम मातहतका कार्यालयलाई तयारी अवस्थामा राख्न आग्रह गरे । उनले विद्युत्गृह, प्रसारणलाइन तथा सबस्टेसनलाई पूर्ण क्षमतामा चलाउन, विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिएका मस्र्याङ्दी करिडोर दुई सय २० केभी, हेटौँडा-ढल्केबर चार सय केभी प्रसारण निर्माणमा विशेष ध्यान दिन, आगामी हिउँद यामको विद्युत् व्यवस्थापनमा लाग्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिए ।

प्राधिकरणका कार्यकारी मनोज सिलवाल र केन्द्रका निर्देशक चन्दनकुमार घोषले विद्युत् उत्पादन, माग, आपूर्ति, निर्यात, प्रणाली सञ्चालनको अवस्था तथा समस्यालगायतका विषयमा जानकारी गराएका थिए ।

1

Scroll to Top