Banijya News

जेनजी आन्दोलनका क्रममा भएको क्षतिको कूल बीमा दाबी रकम २३ अर्ब माथि

1
1.1K Shares

हालैको ‘जेनजी’ आन्दोलनका क्रममा देशभर भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम करिब रू. २३ अर्ब २२ करोड ८७ लाख पुगेको छ। यो तथ्याङ्क नेपालका निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार, विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा गरी कूल ३ हजार ९९ वटा बीमा दाबी परेका छन्। यी सबै दाबीको कुल रकम रू. २३ अर्ब २२ करोड ८७ लाख रहेको छ। यसले आन्दोलनका कारण निजी तथा सार्वजनिक सम्पत्तिमा भएको ठूलो क्षतिलाई उजागर गरेको छ ।

बीमा कम्पनीहरूले क्षतिको यकिन गरी दाबी भुक्तानीको प्रक्रिया अगाडि बढाएका छन्। बुधबारसम्मको तथ्यांकअनुसार, निर्जीवन बीमा कम्पनीहरूले परेका कूल दाबी रकममध्ये अग्रिम भुक्तानी समेत गरी करिब रू. १ अर्ब २९ करोड १९ लाख बराबरको भुक्तानी गरिसकेका छन् ।

क्षतिको सही मूल्यांकनका लागि निर्जीवन बीमा कम्पनीहरूले द्रुत गतिमा सर्भेयर खटाउने कार्य गरिरहेका छन्। बुधबारसम्ममा कम्पनीहरूले २ हजार ७०६ जना सर्भेयर खटाएको जानकारी प्राधिकरणलाई गराएका छन्। खटाइएका सर्भेयरमध्ये हालसम्म ३७४ वटा सर्भे प्रतिवेदन भने पेश भइसकेका छन्। बाँकी प्रतिवेदनहरू पनि सर्भेयरहरूले क्रमशः पेश गर्दै जाने क्रम जारी रहेको प्राधिकरणले जनाएको छ।

ठूलो संख्यामा परेका यी दाबीहरूको व्यवस्थापन र समयमै भुक्तानीका लागि बीमा कम्पनीहरूमाथि अहिले दबाब परेको देखिन्छ। यस आन्दोलनको क्षतिले नेपालको निर्जीवन बीमा क्षेत्र र समग्र अर्थतन्त्रमा समेत ठूलो प्रभाव पार्ने देखिएको छ ।

1

Scroll to Top