Banijya News

राष्ट्र बैंकको कडाइपछि लघुवित्तमा धितो कर्जाको हिस्सा घट्दै

1
1.2K Shares

नेपाल राष्ट्र बैंकले लघुवित्त क्षेत्रमा कर्जाको सीमा घटाउँदै कडाइ गरेपछि धितोमा आधारित कर्जाको हिस्सा घट्न थालेको छ । पछिल्ला नीतिगत परिवर्तनका कारण लघुवित्तहरूमा विना धितो ऋण प्रवाहको हिस्सा भने उल्लेख्य रूपमा बढेको छ ।

राष्ट्र बैंकले लघुवित्त क्षेत्रलाई सुधार गर्ने उद्देश्यसहित व्यक्तिगत कर्जा सीमा घटाउने र ग्राहकको दोहोरोपन रोक्ने व्यवस्था लागू गरेपछि संस्थाहरू विना धितो ऋण प्रवाहमा बढी सक्रिय भएका हुन् ।

बैंकको तथ्यांकअनुसार लघुवित्तहरूले हालसम्म कुल ४ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । तीमध्ये १६ दशमलव १२ प्रतिशत मात्र धितोमा आधारित छ । २०८१ असारमा यो अनुपात १६ दशमलव ६३ प्रतिशत थियो । एक वर्षको अवधिमा धितो कर्जाको अंश ०.५१ प्रतिशत विन्दुले घटेको देखिन्छ ।

२०७९ कात्तिकमा राष्ट्र बैंकले लघुवित्तबाट पीडित ऋणीहरूको आन्दोलनपछि नयाँ निर्देशन जारी गरेको थियो । सो निर्देशनले एक व्यक्तिले एउटै लघुवित्त संस्थाबाट मात्र ऋण लिन सक्ने, अधिकतम ऋण सीमा सात लाख रुपैयाँ हुने र लघुवित्तबाट ऋण लिने व्यक्तिले अन्य बैंक वा वित्तीय संस्थाबाट ऋण लिन नपाउने व्यवस्था गरेको थियो ।

पछिल्लो संशोधनअनुसार २०८१ साउनदेखि एक व्यक्तिले दुईवटासम्म लघुवित्त संस्थाबाट ऋण लिन सक्ने सुविधा पाएको छ । तर, अधिकतम सीमा भने यथावत् राखिएको छ । यसअघि लघुवित्तहरूले विना धितो सात लाख रुपैयाँसम्म र धितोमा १५ लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्न पाउँथे ।

तर, राष्ट्र बैंकले लघुवित्तको उद्देश्य र मर्म विपरीत भइरहेको सञ्चालनका कारण उक्त प्रावधान संशोधन गरेको हो । नयाँ व्यवस्थाअनुसार लघुवित्तहरूले अब विपन्न वा न्यून आय भएका समूहका सदस्य वा गैरसदस्यलाई स्वीकार्य धितो लिएर कृषि, साना उद्यम वा व्यवसाय सञ्चालनका लागि अधिकतम सात लाख रुपैयाँसम्म मात्र ऋण प्रवाह गर्न सक्छन् ।

साथै, दुई वर्षदेखि असल श्रेणीमा रहेका ऋणीलाई १५ लाख रुपैयाँसम्म धितो कर्जा दिने प्रावधान पनि हटाइएको छ । राष्ट्र बैंकले निर्देशिकामार्फत खुद्रा कर्जामा संलग्न लघुवित्तहरूले कुल कर्जाको एक तिहाइभन्दा बढी धितो कर्जा दिन नपाउने बाध्यकारी व्यवस्था पनि गरेको छ ।

लघुवित्त विज्ञहरूका अनुसार लघुवित्तको मूल दर्शन नै विना धितो कर्जा हो, त्यसैले धितो लिएर ऋण प्रवाह गर्नु मर्मविपरीत कार्य हो । नेपालमा बैंक तथा वित्तीय संस्थाको पहुँच नपुगेका विपन्न वर्गलाई वित्तीय सेवा पुर्‍याउने उद्देश्यले लघुवित्त कार्यक्रम सुरु गरिएको हो ।

तर पछिल्ला वर्षहरूमा लघुवित्तहरू नाफामुखी बन्न थालेको र बैंकिङ मोडेलमा रूपान्तरण हुँदै गएको आरोप लाग्दै आएको छ । यस्तै आलोचनापछि राष्ट्र बैंकले नीतिगत रूपमा कडाइ गर्दै विना धितो कर्जाको अभ्यासलाई पुनः सुदृढ पार्ने दिशामा ध्यान दिएको हो ।

लघुवित्तका ऋणीहरू आन्दोलित भएपछि राष्ट्र बैंक र अर्थ मन्त्रालयले छुट्टाछुट्टै अध्ययन समिति गठन गरेका थिए । ती समितिहरूका सुझावका आधारमा राष्ट्र बैंकले नीतिगत परिवर्तनसँगै ऋणीहरूलाई पुनःसंरचना तथा पुनर्तालिकीकरणको सुविधा पनि दिँदै आएको छ ।

1

Scroll to Top