सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले गत आर्थिक वर्षको निर्यात अनुदान नदिने निर्णय गरेको छ ।
नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ मा निर्यात गरिसकेका निर्यातकर्तालाई अनुदानको आवेदन प्रक्रिया नगर्ने भएको हो । उद्योग विभागले असोज २३ गते जारी गरेको सूचनामार्फत उक्त वर्षमा अनुदानका लागि बुझाइने आवेदन यसपालि प्रक्रिया नगर्ने जनाएको छ ।
अघिल्ला वर्षहरूमा सरकारले भारत र तेस्रो मुलुकमा निर्यात हुने वस्तुमा कम्तीमा पाँचदेखि आठ प्रतिशतसम्म निर्यात अनुदान उपलब्ध गराउँदै आएको थियो । तर यसपटक सरकारले प्रक्रिया नै नगर्ने निर्णय गरेपछि लामो समयदेखि अनुदान पाउँदै आएका उद्योगी व्यवसायीहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
उद्योग विभागले सार्वजनिक गरेको सूचनामा भनिएको छ, “निर्यात अनुदान प्रदान गर्ने सम्बन्धी दोस्रो संशोधन कार्यविधि, २०७९ अनुसार मूल्य अभिवृद्धि प्रमाणीकरण गराउन चाहने निर्यातकर्ताले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र स्व–घोषणासहित अनुसूची–३ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने व्यवस्था रहेकोमा चालु आर्थिक वर्षमा थप दायित्व सृजना हुने देखिएकाले आर्थिक वर्ष २०८१/८२ को स्व–घोषणा विवरण विभागमा पेश नगर्ने व्यवस्था गरिएको छ ।”
पूर्वी नेपालको मोरङ उद्योग वाणिज्य संघका अध्यक्ष अनुपम राठीले सरकारले निर्यात अनुदान रोक्ने निर्णय गलत भएको बताए । उनका अनुसार, यस्तो निर्णयले निर्यात प्रवर्द्धनमा अवरोध पुर्याउनुका साथै उद्योगी व्यवसायीको मनोबलमा पनि ठुलो असर पुर्याउँछ ।
राठीले भने, “भूपरिवेष्ठित मुलुकबाट अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नै कठिन छ, त्यसमाथि सरकारले निर्यात अनुदान नै रोकेपछि उद्योगीहरूको आत्मबल कमजोर हुने निश्चित छ ।”
उनले सरकारले जारी गरेको सूचना फिर्ता लिएर अनुदान आवेदनका लागि आवश्यक समय थप गर्नुपर्ने माग समेत गरेका छन् । राठीका अनुसार, निर्यातकर्ताले प्रस्तुत गरेको स्व–घोषणा विवरणलाई मान्यता दिई प्रक्रिया अघि बढाउनुपर्छ, अन्यथा यसले सरकारप्रति उद्योग क्षेत्रको विश्वास घटाउनेछ ।
मोरङ उद्योग वाणिज्य संघले हालको आर्थिक मन्दी र संक्रमणकालीन अवस्थालाई मध्यनजर गर्दै गत आर्थिक वर्षको बक्यौता देखिएको निर्यात अनुदान रकम बराबरको सरकारी बोन्ड जारी गर्न पनि सुझाव दिएको छ ।
उद्योगी व्यवसायीहरूले सरकारको पछिल्लो निर्णयले मुलुकको निर्यात क्षेत्र, वैदेशिक मुद्रा आर्जन र औद्योगिक स्थायित्वमा दीर्घकालीन नकारात्मक असर पार्ने चेतावनी दिएका छन् । उनीहरूको भनाइमा, सरकारले तत्काल निर्णय पुनर्विचार गरी निर्यात प्रवर्द्धनका नीति–कार्यक्रमहरूलाई निरन्तरता दिनु अत्यावश्यक छ ।


