नेपाल पुनर्बीमा कम्पनीले जेनजी आन्दोलनका क्रममा पुगेको सम्पत्ति क्षतिको बीमाबापतको भुक्तानी निर्जीवन बीमा कम्पनीहरुलाई सुरु गरेको छ ।
कम्पनीस्थित उच्च स्रोतका अनुसार बिहीबारदेखि बीमा दाबी परेका कम्पनीहरुबाट आएको दाबीका आधारमा प्रारम्भिक भुक्तानी सुरु गरिएको हो ।
नेपाल सरकारले निजी क्षेत्रका लागि सहुलियतको घोषणा गर्दै त्यसमा बीमा दाबीको कम्तीमा ५० प्रतिशत भुक्तानी अग्रिम गराउने व्यवस्था मिलाउने बताएको थियो । तर, बीमाको दाबी भुक्तानी प्रक्रियाका केही कानूनी जटिलताहरुका कारण सरकारले भनेजस्तो कम्पनीहरुले पेश गरेको दाबीको ५० प्रतिशत अग्रिम भुक्तानी गरिहाल्ने अवस्था नरहेको स्रोतको भनाई छ ।
नेपाल पुनर्बीमा कम्पनीले कम्तीमा तिहारअघिसम्म कम्पनीहरुलाई ४ अर्ब रुपैयाँ हाराहारीमा भुक्तानी गर्ने गरी आन्तरिक तयारी गरिरहेको समेत स्रोतको दाबी छ । ‘बढीमा ४ अर्ब रुपैयाँसम्मको भुक्तानी तिहारअघि गर्ने गरी पैसाको व्यवस्थापन भइसकेको छ ।’ स्रोतले भन्यो – ‘त्यसपछि बाँकी भुक्तानी सर्भेयरहरुको रिपोर्ट आएपछि बिनाझञ्झट अगाडि बढाउने हाम्रो तयारी छ ।’
नेपाल पुनर्बीमा कम्पनीको प्रारम्भिक आँकलनअनुसार जेनजी आन्दोलनका क्रममा क्षति भएको सम्पत्तिको बीमाबापत १२ अर्ब बढीको दायीत्व यो कम्पनीलाई मात्र आइपर्ने देखिएको छ ।
यसैगरी, देशभर हालै परेको भारी र अति भारी वर्षाका कारण भएको क्षतिको बीमाबापत आएको दाबीको प्रारम्भिक आँकलन अनुसार नेपाल पुनर्बीमाले करिब १ अर्ब ५० करोड रुपैयाँ थप छुट्याउनुपर्ने देखिएको छ ।


