Banijya News

मौसम खुलेसँगै फेवातालदेखि अन्नपूर्णसम्म पर्यटकको भीड

1
1.2K Shares

जेनजी आन्दोलन र प्रतिकूल मौसमका कारण प्रभावित भएको पोखराको पर्यटन क्षेत्र विस्तारै सुधार हुन थालेको छ । शनिबारदेखि पोखरामा पर्यटकको चहलपहल बढ्न थालेको व्यवसायीहरुले बताएका छन् । अंग्रेजी महिनाको सेप्टेम्बर÷अक्टोबरलाई पर्यटनको सिजन मानिन्छ ।

पोखराका पर्यटकीय गन्तव्यहरुमा हिजोआज केही मात्रामा चहलपहल देखिन थालेको छ । मुख्य पर्यटकीय स्थल फेवातालमा आन्तरिक तथा बाह्य पर्यटकहरूको डुंगा सयर गर्न शनिबार निकै भिडभाड भयो । बाराहीघाटमा लाइफ ज्याकेट लिने र डुंगा सयर गर्नेहरूको बिहानदेखि बेलुकासम्मै भिडभाड भएको फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीले बताए ।

दशैंपछि फेवाताल आउने पर्यटकहरूको संख्या शनिबार ह्वात्तै वृद्धि भएकोले आफूहरु निकै उत्साहित भएको उनले बताए । फेवातालको बीचमा रहेको तालबराही मन्दिर दर्शन गर्न डुंगाबाट आवतजावत गर्न लाइफ ज्याकेट सहित प्रतिव्यक्ति १०० रुपैयाँ शुल्क लाग्छ । फेवातालमा काठको डुंगामा प्रतिघण्टा सयर गर्दा ९०० र प्याडल बोट (छत्रे बोट) प्रतिघण्टा १ हजार ६ सय रूपैयाँ शुल्क निर्धारण गरिएको छ । शनिबार पोखरामा डुंगा सयर गर्ने पर्यटकको संख्या वृद्धि भएसँगै आफूहरुमा आशा जागेको डुंगा व्यवसायी प्रीतम कुँवरले बताए । अन्य दिनमा दुई–तीन दिनमा पनि पालो नआउने भए पनि शनिबार एउटै डुंगाले दुई पटकसम्म पालो पाएको व्यवसायीहरुले बताए । फेवातालमा हाल ७ सय ६७ वटा काठका डुंगा रहेका छन् भने ७५ वटा प्याडल बोट रहेका छन् ।

मौसममा सुधार र यातायातमा समेत सहजता आएपछि धेरै विद्यार्थी र विभिन्न संघसंस्थाका व्यक्तिहरु पोखरा भ्रमणमा आउन थालेका छन् । पोखरामा साहसिक खेल गतिविधिमा पनि पर्यटकहरू रमाउने गर्छन् । हिजोआज दैनिक २०० देखि २५० पर्यटकले प्याराग्लाइडिङ गर्न थालेको नेपाल हवाई खेलकुद संस्था ना का अध्यक्ष अनिल केसीले बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कारण स्थानान्तरण भएको प्याराग्लाइडिङ पुनः पहिलेकै ठाउँ तोरीपानीबाट उडान भई खपौदीबाट ल्याण्डिङ गर्दै फेवाताल माथिसम्म उड्न पाउने भएको हुँदा प्याराग्लाइडिङ गर्नेहरूको संख्यामा वृद्धि भएको उनले दाबी गरे ।

हिजोआज मौसम राम्रोसँग खुलेका कारण ट्रेकिङ जानेहरुको उपयुक्त मौसम भएकोले गर्दा ट्रेकिङ जानेहरुको संख्या समेत बढेको टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बताए । देशमा विभिन्न क्षेत्रसहित विदेशबाट अहिलेको मौसममा विश्वकै चर्चित अन्नपूर्ण पदमार्ग, मर्दी हिमाल लगायतका पदमार्गमा उत्साहजनक रुपमा पर्यटकहरु सहभागी भएको उनले जनाए ।

पोखरामा हाल होटल अकुपेन्सी ३० प्रतिशत पुगेको छ । जेनजी आन्दोलनपछि पोखरामा विस्तारै पर्यटक आगमनमा वृद्धि भएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । प्रतिकूल मौसम र जेनजी आन्दोलनको मारमा परेको पोखराको पर्यटन क्षेत्रमा विस्तारै रौनक आउन थालेको उनको भनाइ छ ।

1

Scroll to Top