अर्थमन्त्री रामेश्वरप्रसाद खनाल विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को वार्षिक बैठकमा भाग लिन हाल अमेरिकाको भ्रमणमा रहेका छन्। यसैक्रममा उनले सोमबार विभिन्न महत्त्वपूर्ण भेटवार्ता तथा एक व्यावसायिक संवाद कार्यक्रमलाई सम्बोधन गरेका छन्।
अर्थमन्त्री खनालले अमेरिका चेम्बर अफ कमर्स (America Chamber of Commerce) द्वारा आयोजित ‘फ्रम द हिमालयज टु द हार्टल्याण्ड : अमेरिका नेपालको साझेदारीको मजबुति’ विषयक बिजनेस डायलगलाई सम्बोधन गरे। उक्त कार्यक्रममा मन्त्री खनालले नेपालको वर्तमान आर्थिक अवस्था र नेपाल–अमेरिका साझेदारीलाई थप मजबुत बनाउने विषयमाथि आफ्नो धारणा राखेका थिए।
सोही क्रममा, अर्थमन्त्री खनालले अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) का उपप्रबन्ध निर्देशक बो लि (Bo Li) सँग भेटवार्ता गरेका छन्। सोमबार भएको यो भेटका अवसरमा नेपालको वित्त र आर्थिक विषयहरूमा केन्द्रित रहेर छलफल भएको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ। भेटवार्तामा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, दूतावासका प्रतिनिधि, मन्त्री खनालको भ्रमण दलका सदस्यहरू तथा मुद्रा कोषका अन्य कर्मचारीहरूको पनि सहभागिता रहेको थियो। अर्थमन्त्री खनाल वार्षिक बैठकमा भाग लिन आइतबार वाशिङ्टन डिसी आइपुगेका थिए।


