Banijya News

आईएमएफले पनि घटायो नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण

1
1.2K Shares

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चालु आर्थिक वर्षका लागि नेपालको आर्थिक वृद्धिदर प्रक्षेपणलाई सामान्य रुपमा घटाउँदै नयाँ आँकडा सार्वजनिक गरेको छ । कोषको फ्ल्यागसिप प्रकाशन ‘वर्ल्ड इकोनोमिक आउटलुक’ अनुसार नेपालको आर्थिक वृद्धि ५.२ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । यसअघि गत अप्रिलमा प्रकाशित आउटलुकले चालू आर्थिक वर्ष (सन् २०२६) मा नेपालको आर्थिक वृद्धि ५.५ प्रतिशत रहने अनुमान गरेको थियो । यसरी आईएमएफले आफ्नो पुरानो प्रक्षेपणमा ०.३ प्रतिशत बिन्दुले कमी गरेको छ ।

चालु आर्थिक वर्षमा जेन्जी आन्दोलनका कारण अर्थतन्त्रमा पनि असर पर्ने भएकाले अपेक्षित वृद्धिदर हासिल नहुने देखिएको छ । यद्यपि, विश्व बैंकले हालै नेपालको आर्थिक वृद्धिको प्रक्षेपणलाई व्यापक रुपमा घटाएको तुलनामा आईएमएफले भने सामान्य मात्रै कटौती गरेको हो ।

विश्व अर्थतन्त्रको सन्दर्भमा, आईएमएफले सन् २०२५ मा विश्वव्यापी आर्थिक वृद्धि ३.२ प्रतिशत र अर्को वर्ष ३.१ प्रतिशत रहने अनुमान गरेको छ । यो अनुमान गत वर्षको तुलनामा ०.२ प्रतिशत बिन्दुले कम हो । तर, अप्रिलको प्रक्षेपण (२.८ प्रतिशत) भन्दा भने सन् २०२५ को आर्थिक वृद्धिको प्रक्षेपण केही सुधारिएको छ ।

आईएमएफका अनुसार सन् २०२५ को अप्रिलमा संयुक्त राज्य अमेरिकाले व्यापक ट्यारिफ घोषणा गरेर विश्व अर्थतन्त्रलाई प्रभावित गरेको थियो । हाल अमेरिकाले धेरै मुलुकसँग व्यापार सम्झौता गरेको तथा अन्य मुलुकहरुले जवाफी रुपमा भन्सार नबढाएकाले गर्दा अनिश्चयमा केही कमी आएको कोषले जनाएको छ । आईएमएफका इकोनोमिक काउन्सेलर तथा अनुसन्धान विभाग प्रमुख पियरे–ओलिभर गोरिन्चासले मंगलबार प्रतिवेदन सार्वजनिक गर्दै सोही कारण विश्व आर्थिक वृद्धिको प्रक्षेपणमा सामान्य सुधार गरिएको बताए ।

तथापि, अमेरिकाले लगाएको भन्सार महसुल दर अझै उच्च रहेको, व्यापार तनाव बढ्दै गएको तथा स्थायी व्यापार सम्झौताहरूको कुनै ग्यारेन्टी नभएकाले अर्थतन्त्रको पूर्ण चित्र आउन लामो समय लाग्न सक्ने आईएमएफले उल्लेख गरेको छ ।

1

Scroll to Top