Banijya News

चिनी उत्पादकसँग ३५ हजार टन चिनी मौज्दात

1
1.2K Shares

चाडपर्वको मुखमा चिनीको माग र खपत बढ्ने सन्दर्भमा यस वर्ष चिनीको अभाव नहुने र मूल्यमा स्थिरता रहने सरकारी निकायहरूले दाबी गरेका छन् । तिहार र छठ पर्व नजिकिँदै गर्दा विगतमा जस्तो कृत्रिम अभाव सिर्जना भई उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने अवस्था यसपालि नआउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्ष तिहार र छठ पर्वमा चिनीको आपूर्ति व्यवस्था सुदृढ रहेको र मूल्यमा कुनै वृद्धि नहुने दाबी गरेको छ । मन्त्रालयका सहसचिव शिवराम पोखरेलका अनुसार स्वदेशी चिनी उत्पादक मिलहरूसँग हाल ३० हजारदेखि ३५ हजार टन चिनी मौज्दात छ, जुन चाडपर्वको माग धान्न पर्याप्त छ । यसका साथै, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले पनि पर्याप्त मात्रामा चिनी जोहो गरेका छन् । सहसचिव पोखरेलले सरकारी निकायहरू (खाद्य र साल्ट ट्रेडिङ) बजारमा सक्रिय भएकाले र उनीहरूले निश्चित सीमाभित्र चिनी बेच्ने भएकाले अन्य व्यापारीले विगतमा जस्तो कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउन पाउने सम्भावना न्यून रहेको ठोकुवा गरे ।

तिहार, छठ जस्ता चाडपर्वमा सामान्य अवस्थाको भन्दा उल्लेखनीय बढी, करिब २५ देखि ३० हजार टन चिनी खपत हुने अनुमान छ । सरकारी निकायको दाबीलाई थप बल दिँदै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका खरिद विभाग प्रमुख अनन्तराज पौडेलले कम्पनीसँग हाल करिब ४ हजारदेखि ५ हजार क्विन्टल चिनी मौज्दात रहेको र मूल्य पनि वृद्धि नहुने सुनिश्चित गरे । कम्पनीले हाल प्रतिकिलो रु. ९७.५० मा चिनी बिक्री गरिरहेको छ र चाडपर्व लक्षित छुटपछि पनि मूल्य रु. १०० भन्दा माथि नजाने उनको भनाइ छ । त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका सूचना अधिकारी कुमार राजभण्डारीले पनि कर्पोरेसनसँग करिब ४ हजार टन चिनी मौज्दात रहेको र प्रतिकिलो रु. ९५ मा बिक्री भइरहेको जानकारी दिँदै बजारमा चिनीको अभाव नहुने स्पष्ट पारेका छन् ।

यस वर्ष सरकारले गत जेठमा चिनीको भन्सार मूल्यमा ५० प्रतिशत कटौती गरी आयात सहज बनाएका कारण स्वदेशी उद्योगहरूले एकाधिकार जमाउन पाएका छैनन् । जसले गर्दा विगत वर्षहरूमा जस्तो उपभोक्ताले प्रतिकिलो रु. १२० सम्म तिर्नुपर्ने अवस्था यसपालि नआउने सरकारी निकायहरूको विश्वास छ । भारतबाट पनि नियमित चिनी आइरहेको र आवश्यक परे खाद्य कम्पनीका लागि थप १० हजार क्विन्टल चिनी आयात गर्न कोटा उपलब्ध रहेकोले आपूर्तिमा कुनै संकट नआउने मन्त्रालयको भनाइ छ ।

1

Scroll to Top