बजेट खर्चका लागि सरकारी निकायहरूले अग्रसरता लिन नसक्दा चालू आर्थिक वर्षको सुरुवाती दुई महिनामै सरकारी कोषमा ठूलो रकम थुप्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष ०८२/८३ को दुई महिनाको तथ्याङ्कअनुसार सरकारी कोषमा २ खर्ब ५५ अर्ब ६१ करोड रुपैयाँ मौज्दात रहेको छ।
राष्ट्र बैंकले चालू आवको दुई महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो । पहिलो महिना (असार मसान्त)मा पनि सरकारी कोषमा मौज्दात एक खर्ब ३० अर्ब ७३ करोड रुपैयाँ थियो ।
यद्यपि, चालू आवको दुई महिनामा सरकारले राजस्व (१ खर्ब ५७ अर्ब) को तुलनामा बढी खर्च (१ खर्ब ८० अर्ब रुपैयाँ) गरेको छ। तर, यो रकम अर्थतन्त्रलाई गति दिनका लागि पर्याप्त नभएको अर्थशास्त्रीहरूको भनाइ छ।
सरकारी ढुकुटीमा रकम निरन्तर थुप्रिरहेको अवस्थामा अर्थमन्त्री रामेश्वर खनालले भने खर्च बढाउने गरी विकास निर्माण र जेन-जी आन्दोलनपछिको पुनर्निर्माणलाई प्राथमिकता दिन सकेका छैनन्। बरु, उनले १ खर्बभन्दा बढी विनियोजन भएका टुक्रे आयोजनाहरूबाट बजेट कटौती गर्ने योजना बनाएका छन्। सो रकम पुनर्निर्माणमा खर्च गर्ने भनिए पनि सरकार अहिलेसम्म ध्वस्त भएका संरचनाको तथ्याङ्क संकलनमै अल्झिरहेको छ।
ऋण लिएर खर्च बढाउन राष्ट्र बैंकको सुझाव
न्यून ब्याजदरको फाइदा उठाएर ऋण लिएर भए पनि खर्च बढाउन केन्द्रीय बैंकले सरकारलाई सुझाव दिइरहेको छ। गभर्नर विश्वनाथ पौडेलले सार्वजनिक रूपमै न्यून ब्याजदरको सदुपयोग गर्दै सरकारले ऋण लिनुपर्ने र त्यस्तो रकम बजार पठाउनुपर्ने धारणा राख्दै आएका छन्।
यसैबीच, राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आवको भदौसम्ममा बाह्य क्षेत्रका सूचकहरू भने सुविधाजनक स्थितिमै रहेका छन्। बजारमा वस्तुको माग बढ्न नसकेका कारण बाह्य क्षेत्रको सहजता बढेको हो। भदौ मसान्तसम्ममा विदेशी मुद्रा सञ्चिति २८ खर्ब ८१ अर्ब रुपैयाँ कायम भएको छ, जुन १९.७ महिनाको वस्तु आयात धान्न पर्याप्त छ।
विदेशी मुद्राको प्रमुख स्रोत रेमिट्यान्स पनि दुई महिनामा ३३.१ प्रतिशतले बढेर ३ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको छ। कुल वस्तु निर्यात ८८.६ प्रतिशतले वृद्धि भई ४७ अर्ब ३२ करोड पुगेको छ भने आयात १६.२ प्रतिशतले वृद्धि भई ३ खर्ब ५ अर्ब १६ करोड पुगेको छ।
चाडबाड सुरु भएर उपभोग बढेकाले साउनको तुलनामा भदौमा मूल्यवृद्धि दर थोरै बढेको छ। साउनमा १.६८ प्रतिशत रहेको मुद्रास्फीति भदौमा १.८७ प्रतिशत कायम छ। भारतमा मुद्रास्फीति कम भएकाले नेपालमा पनि त्यसको प्रभाव देखिएको हो।


