सरकारले निर्यातमा दिँदै आएको नगद अनुदान बन्द गर्ने निर्णय गरेपछि निजी क्षेत्रले उक्त निर्णयलाई फर्काउन व्यापक लबिङ सुरु गरेको छ। उद्योग विभागले हालै चालु आर्थिक वर्षका लागि थप दायित्व सिर्जना हुने गरी निर्यात अनुदानसम्बन्धी कुनै पनि निवेदन नलिने सूचना जारी गरेसँगै निजी क्षेत्र आन्दोलित भएको हो।
निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) ले मंगलबार विज्ञप्ति जारी गर्दै अनुदान स्थगनको निर्णय पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको छ। महासंघले निर्यातमा नगद अनुदान रोक्ने निर्णयले लगानी, निर्यात व्यापार र रोजगारीमा गम्भीर नकारात्मक असर पर्ने भन्दै यो व्यवस्था पुनः सुरु गर्न माग गरेको छ।
महासंघका अनुसार, वैदेशिक व्यापारमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरण र विदेशी मुद्रा आर्जन गर्ने मुख्य उद्देश्यले सरकारले आर्थिक वर्ष २०६८-६९ बाट स्वदेशी मूल्य अभिवृद्धि भएका वस्तुहरूको निर्यातलाई प्रोत्साहन दिन नगद अनुदानको व्यवस्था सुरु गरेको थियो। व्यवसायीहरूको धारणा छ कि यस अनुदानले निर्यात व्यापारमा थोरै भए पनि राहत प्रदान गर्दै निर्यात वृद्धिमा सहयोग पुर्याएको छ।
छिमेकी मुलुकको तुलनामा नेपालको ढुवानी खर्च २५ देखि ३० प्रतिशतसम्म महँगो रहेको अवस्थामा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्नका लागि नगद अनुदान अत्यावश्यक रहेको महासंघले जनाएको छ।
महासंघबाहेक निजी क्षेत्रसम्बद्ध अन्य संघसंस्थाहरूले पनि विज्ञप्ति जारी गरी सरकारको निर्णय परिवर्तन गर्न माग गरेका छन्। यस्तै, निजी क्षेत्रका प्रतिनिधिहरूले सरकारी अधिकारीहरूलाई भेटेरै निर्णय फिर्ता लिन आग्रह गरिरहेका छन्। स्रोतका अनुसार, व्यवसायीहरूले उद्योग मन्त्री र मुख्य सचिवलगायतसँग भेटेर आफ्नो माग राखिरहेका छन्।
उद्योग विभागले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पत्र अनुसार, ‘चालु आर्थिक वर्षमा थप दायित्व सिर्जना गर्ने गरी निर्यातमा नगद अनुदानसम्बन्धी निवेदन लिन उपयुक्त नदेखिएको’ सूचना जारी गरेको थियो। यसको अर्थ गत आर्थिक वर्ष २०८१/८२ को स्व-घोषणाको विवरण पेस गर्ने व्यवसायीको निवेदन नलिइने भएको छ।
निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०७९ अनुसार मूल्य अभिवृद्धि प्रमाणीकरण गराउन चाहने निर्यातकर्ताले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र निवेदन दिनुपर्ने व्यवस्था छ। सोही अनुसार निवेदन दिने तयारीमा रहेका व्यवसायीहरू विभागको सूचनाले स्तब्ध भएका छन्।
सरकारले निर्यात उद्योगीहरूलाई झन्डै ५ अर्ब रुपैयाँ बराबरको निर्यात अनुदान रकम अझै दिन बाँकी छ, जसले गर्दा यो कार्यक्रम यसअघि पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको थिएन।
एभरेष्ट फेसनका सञ्चालक महेश्वर श्रेष्ठले सरकारले निर्यातकर्तालाई दिने घोषणा गरेको नगद अनुदान ‘बजेट अभाव’ देखाउँदै रोकिएको र फाइल अड्काउने जस्ता समस्याका कारण निर्यात क्षेत्रले राज्यबाट उपेक्षा महसुस गरेको बताए।
तयारी पोशाक संघका अध्यक्ष पशुपतिदेव पाण्डेयले निर्यात प्रवद्र्धन गर्नुको साटो सरकारको पछिल्लो निर्णयले निर्यात घटाउने चिन्ता व्यक्त गरे। बंगलादेशले समेत पहिले २५ प्रतिशतसम्म अनुदान दिएर निर्यातलाई माथि उठाएको उदाहरण दिँदै उनले उद्योग सक्षम नभएसम्म अनुदान बढाउनुपर्नेमा जोड दिए।
हाल सरकारले वार्षिक ५० करोडभन्दा बढी निर्यातमा अधिकतम ८ प्रतिशतसम्म र ५० करोडभन्दा कम निर्यात गर्ने उद्योगलाई मूल्य अभिवृद्धि तथा अघिल्लो वर्षको निर्यातको आधारमा कम्तीमा ४ देखि अधिकतम ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेको छ। यो अनुदान हाल विभिन्न ३६ वस्तुमा उपलब्ध छ।


