Banijya News

आईपीओ जारी गर्ने तयारीमा प्रभु स्टील्स

1
1.2K Shares

प्रभु ग्रूप्सको मुख्य लगानीमा स्थापित प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेन्ट कम्पनी लिमिटेड र केयर रेटिङ्गस्‌ नेपाल लिमिटेडबीच आज क्रेडिट रेटिङ्ग सम्झौता भएको छ । कम्पनीले आगामी पौष १९ मा हुने वार्षिक साधारणसभाबाट आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने तयारी गरेसँगै क्रेडिट रेटिङ्ग सम्झौता गरेको हो ।

सम्झौतापत्रमा प्रभु स्टील्स एण्ड हाइड्रातर्फबाट वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सिताराम धिमालले हस्ताक्षर गरे भने केयर रेटिङ्स्‌को तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्दप्रकाश झाले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै अब प्रभु स्टील्सले आफ्नो क्रेडिट रेटिङ्ग सम्पन्न गरी धितोपत्र बोर्डमा सार्वजनिक शेयर निष्कासनका लागि आवेदन दिनेछ ।

प्रभु स्टील्ससमेतको लगानीमा २५.४ मेगावाटको सुपर आँखुखोला र ३७ मेगावाटको माथिल्लो म्याग्दी गरी दुईवटा हाइड्रो पावर परियोजना तीव्र गतिमा निर्माण भइरहेका छन् । कम्पनीले सोलुखुम्बुमा दोभान खोला जलविद्युत्‌ परियोजना ४.२ मेगावाट र मध्य इन्द्रावती खोला ६.६५ मेगावाट जलविद्युत्‌ परियोजना सिन्धुपाल्चोकमा निर्माण गर्दै छ ।

कम्पनीको मुख्य लगानीमा स्थापित प्रभु जलविद्युत्‌ विकास लिमिटेडले विभिन्न जिल्लामा ३ ओटा जलविद्युत्‌ परियोजना क्रमशः, इन्द्रावती खोला ९.३२५ मेगावाट जलविद्युत परियोजना, राहगाढ ९.६२ मेगावाट जलविद्युत परियोजना, लिदिन खोला ४.१२५ मेगावाट जलविद्युत परियोजना पनि निर्माण शुरु गरेको जनाएको छ ।

प्रभु स्टील्स एण्ड हाइड्रोको ठूलो लगानी रहेको सिद्धार्थ केबलकार २०८१ भदौ २१ गतेदेखि बुटवलमा सञ्चालनमा रहेको छ । कम्पनीले ३७ मेगावाटको माथिल्लो म्याग्दी जलविद्युत्‌ आयोजनामा ४० प्रतिशत शेयर लगानी गरेको छ । यो आयोजना ४५ प्रतिशत सम्पन्न भइसकेको छ । कम्पनीले सार्वजनिक शेयर निष्कासन आईपीओबाट संकलन हुने रकमले सहायक कम्पनीका जलविद्युत्‌ आयोजनामा लगानी गर्ने र निर्माणाधिन परियोजनाहरु सम्पन्न गर्ने लक्ष्य रहेको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सिताराम धिमालले बताए ।

कम्पनीको आईपीओ विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भइसकेको छ भने कम्पनी ऋणमुक्त रहनुका साथै निरन्तर मुनाफा आर्जन गरिरहेको छ ।

कम्पनीले गत असोज ९ गते गरेको विशेष साधारणसभाबाट २०८२ असोज १ गतेसम्म कायम रहेका शेयरधनीहरूका लागि १:१.३४ का दरले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरी आउँदो कात्तिक ९ गते हकप्रद शेयर निष्काशन खुल्ला गर्ने सूचना प्रकाशितसमेत गरिसकेको छ । आर्थिक अभियान राष्ट्रिय दैनिकमा असोज २४ मा प्रकाशित सूचनाअनुसार कम्पनीले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न आगामी पुसमा साधारणसभा गरी धितोपत्र बोर्डमा निवेदन दिने तयारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

1

Scroll to Top