भदौ २३ र २४ को जेन-नी आन्दोलनमा भौतिक संरचनामा भएको क्षतिको सवा २३ अर्ब रुपैयाँ बराबरको बिमा दाबी परेकामा झन्डै २ अर्ब रुपैयाँ बराबरको मात्र भुक्तानी भएको छ । यही असोज २८ सम्मको तथ्यांकअनुसार बिमा कम्पनीहरूमा २३ अर्ब १९ करोड ३६ लाख रुपैयाँबराबरको दाबी परेको छ । त्यसमध्ये १ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ बराबर मात्र भुक्तानी भएको बिमा प्राधिकरणको तथ्यांक छ । यो परेको कुल दाबीको करिब ८.४२ प्रतिशत मात्र हो ।
यही २८ असोजसम्म भएको दाबी भुक्तानीमध्ये सबैभन्दा बढी १ अर्ब ५५ करोड १७ लाख रुपैयाँ सम्पत्ति बिमा (घरसम्पत्ति) अन्तर्गतको छ । सम्पत्ति बिमापछि धेरै भुक्तानी भएको मोटर बिमा हो । जसमा ३६ करोड २५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी भएको छ । ठेकेदार तथा इन्जिनियरिङ बिमामा ३ करोड ८१ लाख र अन्य बिमामा २२ लाख रुपैयाँ बराबरको मात्र भुक्तानी भएको छ । यो अवधिमा पारवहन बिमामा परेको दाबीमध्ये हालसम्म कुनै भुक्तानी भएको छैन । खासगरी ठूला क्षतिमा मूल्यांकनको काम नसकिएकाले परेको दाबीमध्ये धेरै कम मात्र बिमा भएको देखिएको बिमा कम्पनीहरूले जनाएका छन् ।
भुक्तानी भएकामध्ये पनि धेरै रकम पेस्कीबापत दिइएको बिमा कम्पनीहरूले जनाएका छन् । खासगरी पूर्ण क्षति भएका सवारीसाधनलगायत सम्पत्तिको बिमा भुक्तानी गर्न समय नलागे पनि ठूला क्षतिमा मूल्यांकन (सर्भेयर) को प्रतिवेदन आउन समय लाग्ने भएकाले भुक्तानी रकम धेरै नदेखिएको कम्पनीहरूको भनाइ छ ।
प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिमा परेको बिमा दाबीमध्ये साना प्रकृतिका सबै दाबी तिहारसम्म भुक्तानी दिइसक्ने नेपाल बिमक संघले यसअघि नै बताइसकेको छ । गत बुधबारसम्म बिमा कम्पनीहरूमा ३ हजार १ सय ६३ वटा दाबी परेका छन् । तीमध्ये २ हजारभन्दा बढी दाबी साना प्रकृति (२ करोडभन्दा कमका) रहेको र तिनको भुक्तानी आउँदो तिहारसम्म गरिसक्ने आफूहरूको तयारी रहेको नेपाल बिमक संघका अध्यक्ष वीरेन्द्र बैदवार क्षेत्रीले बताएका थिए । यद्यपि हालसम्म कति साना दाबी भुक्तानी भए भन्ने तथ्यांक अझै पत्ता लागेको छैन ।


