Banijya News

साल्पा–सिलिचुङ क्षेत्र : सगरमाथासहित हिमाल नियाल्न पाउँदा अकाषर्ण बढ्दो

1
1.1K Shares

भोजपुरको सबैभन्दा अग्लो साल्पासिलिछो चुचुरो र साल्पा पोखरी पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेका छन् । विशेषगरी मुन्दुम पदमार्गमा आउने पर्यटकहरू यस स्थानलाई अनिवार्य रूपमा पुग्ने गन्तव्यका रूपमा लिने गरेका छन् ।

समुद्री सतहबाट चार हजार १५५ मिटर उचाइमा रहेको सिलिचुङ डाँडाबाट सगरमाथासहित अन्य हिमाल नियाल्न सकिन्छ । हिमशृङ्खलाको मनमोहक दृश्य अवलोकनका लागि यहाँ आन्तरिक र बाह्य पर्यटकहरूको चहलपहल बढ्दो छ । चुचुरो चढेपश्चात देखिने वरिपरिका रमणीय दृश्यको आकर्षणले पर्यटकको मन लोभ्याउने गरेको छ ।

कचुचुरोको काखमै रहेको साल्पा पोखरीले धार्मिक दृष्टिले विशेष महत्व राख्छ । भक्तजनहरूले मनोकामना पूरा हुने विश्वासका साथ यहाँ पूजाआजा गर्ने गरेका छन्। वर्षमा चारपटक – बैशाख, भदौ, कात्तिक र फागुन पूर्णिमामा–यहाँ मेला लाग्ने गर्दछ। ती अवसरमा भोजपुर, खोटाङ, संखुवासभा, धनकुटा र सोलुखुम्बु लगायतका जिल्लाबाट भक्तजनहरूको ठूलो भीड लाग्ने गरेको स्थानीयको भनाइ छ । यो क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ ।

यस स्थानलाई धामीझाँक्रीहरूले शक्तीको गुरुको रूपमा मान्ने परम्परा रहेको छ भने सन्तान नहुनेलाई सन्तान प्राप्त हुने, बोली नआउनेलाई बोली आउने विश्वासले मानिसहरु यहाँसम्म पुग्ने गरेका छन् । कचौरा आकारमा फैलिएको साल्पा पोखरी समय–समयमा रङ परिवर्तन गर्ने विश्वासले पनि प्रख्यात छ। किरात राई समुदायले यसलाई आफ्ना पुख्र्यौली भगवानका रूपमा पूजा गर्ने गरेका छन्।

प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहासिक महत्वले भरिपूर्ण साल्पा पोखरी र सिलिचुङ चुचुरो अहिले पर्यटकको रोजाइको प्रमुख गन्तव्य बनेको छ। यसको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार गर्न सके यो क्षेत्र नेपालको महत्वपूर्ण धार्मिक–पर्यटन केन्द्रका रूपमा स्थापित हुने स्थानीयको भनाइ छ ।

1

Scroll to Top