Banijya News

अन्नपूर्ण क्षेत्रमा भित्रिए ३० हजार पर्यटक

1
1.2K Shares

गत असोजमा ३० हजार ५४७ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । दक्षिण एसियाली मुलुकका १० हजार १९ र अन्य देशका २० हजार ५२८ जना पर्यटकले यस क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।

गत वर्ष असोजको तुलनामा यस वर्ष १८५ पर्यटक कम आएका आयोजना प्रमुख डा रविन कडरियाले बताए । गत भदौमा भएको ‘जेनजी’ प्रदर्शन र मौसमको अवरोधका कारण भारतीय पर्यटक आगमन घटेको उनको भनाइ छ ।

आर्थिक वर्ष २०८०/८१ मा २८ हजार ७०५ र आव २०८१/८२ को असोजमा ३० हजार ७३२ जना पर्यटक यस क्षेत्रमा भित्रिएकामा जनाउँदै कडरियाले असोज र कात्तिकलाई मुख्य पर्यटकीययाम मानिने बताए । कात्तिकमा अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन थप बढ्ने अपेक्षा गरिएको उनले उल्लेख गरे ।

तिहार लगत्तै मुस्ताङसहित आसपासका क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको आयोजना प्रमुख कडरियाले बथताए । “यो याममा विदेशी पर्यटक पदयात्राका लागि यस क्षेत्रमा आउने गर्दछन् । गत कात्तिकमा ३३ हजार ३१० विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए”, उनले भने ।

आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडक मार्ग भएर बर्सेनि उल्लेख्य सङ्ख्यामा आन्तरिक पर्यटक यस क्षेत्रमा भित्रने गरेका आयोजना प्रमुख डा कडरियाले बताए । पर्यटकीय यामसँगै मुख्य चाडपर्व र बिदाको समय पनि पर्ने भएकाले यो समयमा आन्तरिक पर्यटकको आगमन पनि बढ्ने गरेको उनको भनाइ छ ।

यस याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोरेपानी, पुनहिलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो चहलपहल देखिने आयोजना प्रमुख डा कडरियाले बताए ।

वर्षात् र जाडो याममा यस क्षेत्रमा आउने पदयात्री पर्यटकको सङ्ख्या घट्ने बताउँदै उनले अन्य सययमा भने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने उल्लेख गरे । उनका अनुसार मुक्तिनाथसहित अन्य धार्मिक गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन् ।

सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्दछन् । अन्नपूर्ण क्षेत्र पदयात्रा पर्यटनका लागि विश्वमै प्रसिद्ध मानिन्छ ।

1

Scroll to Top