Banijya News

प्राधिकरणले काट्यो प्रिमियम महसुल नतिरेका थप १८ उद्योगको लाईन

1
1.1K Shares

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् उपभोग गरी प्रिमियम महसुल नतिरेका थप १८ उद्योगको विद्युत् काटेको छ । प्राधिकरणले शुक्रबार राति ती उद्योगको बिजुली काटेको हो । यससँगै प्राधिकरणले बिजुली काटेका उद्योगको संख्या २४ पुगेको छ । यसअघि गत मंगलबार ६ उद्योगको बिजुली काटेको थियो ।

हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न, कसमस सिमेन्ट, पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलबारी स्वचालित कारखाना, जगदम्बा सिन्थेटिक, एभरेस्ट रोलिङ, घराना फुड्स, विशाल सिमेन्ट, एसआर फुड्स, सिद्धार्थ पेट प्लास्ट, बुटवल सिमेन्ट, सोना मिनरलस एन्ड आयल्स र निगाले सिमेन्टको बिजुली काटिएको प्राधिकरणले जनाएको छ । यसअघि प्राधिकरणले जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटेको थियो ।

प्राधिकरणले १२ असोजमा प्रशासकीय पुनरावलोकनसँग सम्बन्धित सम्पूर्ण कामकारबाही बदर गरिएको भन्दै १७ कात्तिकभित्र बक्यौता भुक्तान गर्न सूचना जारी गरेको थियो । बक्यौता तिर्न चाहने उद्योगीका लागि २८ महिनाको किस्ताबन्दी सुविधा दिइने उक्त सूचनामा उल्लेख छ । १३ असोजमा प्राधिकरणले अघिल्लो सूचना सच्याउँदै २ कात्तिकभित्र बक्यौता बुझाउन पुनः सूचना जारी गरेको थियो ।

प्राधिकरणको सूचनाअनुसार गत आइतबार उद्योगीहरूले सम्पूर्ण बक्यौता एकै पटक बुझाउने वा किस्ता सुविधा लिएर २८ किस्तामा बुझाइसक्ने सुविधा लिन सक्थे । त्यसको भोलिपल्ट सोमबार लक्ष्मीपूजा भएकाले प्राधिकरणले बिजुली काट्ने प्रक्रिया अघि नबढाएको समेत प्राधिकरणले बताएको छ । तर मंगलबार एकै पटक ६ वटा उद्योगको लाइन काटिएको थियो ।

१३ उद्योगले मात्र किस्ता सुविधा लिएर बक्यौता तिरिसकेको प्राधिकरणका प्रवक्ता राजन ढकालको भनाइ छ । त्यसकारण ती उद्योगका विद्युत् लाइन नकाटिएको ढकालले बताए । अन्तरिम आदेश लिएका ६ उद्योग, २ सरकारी उद्योग र किस्ता सुविधा लिएर बक्यौता तिर्न थालेकाबाहेक सबै उद्योगमा लाइन काटिएको उनको भनाइ छ ।

प्राधिकरणका अनुसार हामा आइरन, हुलास स्टिल र अशोक स्टिलले पनि पहिलो किस्ता तिरेका छन् । हुलासले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुलको १४ करोड १२ लाख रुपैयाँ बक्यौता रकमलाई प्रतिकिस्ता ५० लाख ४३ हजार रुपैयाँ मासिक किस्तामा बुझाउने स्वीकृति पाएको छ । १७ करोड ५८ लाख रुपैयाँ बक्यौता रहेको सिमराकै अर्को अशोक स्टिलले पनि पहिलो किस्ता बुझाएको छ । अशोकले २८ किस्ताको सुविधा लिई ६३ लाख रुपैयाँ बुझाएको हो । हामाले ५ करोड ८५ लाख रुपैयाँ बक्यौतामध्ये पहिलो किस्ताबापत २० लाख ९० हजार रुपैयाँ तिरेको हो । त्यस्तै सर्वोत्तम सिमेन्ट र शुभश्री अग्नि सिमेन्टले पनि शुक्रबार पहिलो किस्ता बुझाएका छन् । विनायक स्पात, शुभलक्ष्मी पोलिमर, जीबी टेक्सटाइल १ र जीबी टेक्सटाइल २ ले पनि किस्ताको सुविधा लिएर बक्यौता तिर्न थालेका छन् । यी उद्योगमा प्राधिकरणले लाइन काटेको छैन ।

उद्योगीहरूले अघिल्लो शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा समेत पत्र दर्ता गराएर डेडिकेटेड र ट्रंकलाइनबारे जानकारी गराएका थिए । प्राधिकरणकै पुनरावलोकन समितिमा दिएको निवेदन विचाराधीन रहेकै अवस्थामा पुनरावलोकनको सम्पूर्ण प्रक्रिया नै रद्द गर्ने प्राधिकरणको बोर्ड बैठकमाथि उद्योगीहरूले प्रश्न उठाएको पत्रमा उल्लेख छ ।

उद्योग र बक्यौता विद्युत् महशुल
क्र.स उद्योगको नाम जरिवानाबाहेकको बक्यौता (रुपियाँमा )

१ बाबा जुट मिल्स २,४९,२६,५४९
२ रघुपति जुट मिल्स ८,५१,४०,३७५
३ रिलायन्स स्पिनिङ मिल्स ७५,३६,८४,३३५
४ निगाले सिमेन्ट ५,८१,१८,००८
५ अरिहन्त मल्टिफाइवर ११,५२,९६,२७९
६ अरिहन्त पोलिप्याक ६,६२,४७,०५०
७ मारुती सिमेन्ट ५७,४४,७९,४९३
८ त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिज ४,३९,८३,१७९
९ हिमाल आइरन एण्ड स्टील १३,६५,०१,९०२
१० त्रिवेणी स्पिनिङ मिल्स ३२,०९,८६,७९३
११ जगदम्बा स्टील १,६०,१८,४३,१२५
१२ अशोक स्टील १७,५८,१४,४०६
१३ हुलास स्टील १४,१२,०५,८६२
१४ हामा आइरन ५,८५,१७,९३६
१५ एभरेष्ट पेपर मिल ९,४४,२१,४९६
१६ कसमस सिमेन्ट ९,७७,२५,५१५
१७ युनाइटेड सिमेन्ट ११,३६,८३,९०९
१८ अर्घाखाँची सिमेन्ट ४४,८४,३२,५७३
१९ विशाल सिमेन्ट ३,३५,२५,९१५
२० एभरेष्ट रोलिङ मिल्स १७,५७,८०९
२१ जगदम्बा सिन्थेटिक २०,५०,४३,९८९
२२ एसआर फुड्स १,४८,५४,८९२
२३ घराना फुड्स १,८७,६९,३५३
२४ सिद्धार्थ पेटप्लास्ट १,८२,८६,३३३
२५ गोयन्का फुड्स १,४७,६७,३१९
२६ भलवारी स्वचालित कारखाना २९,९३,६४५
२७ श्याम प्लास्टिक उद्योग ४९,०९,६७७
२८ पञ्चकन्या प्लाष्टिक इण्डष्ट्रिज २४,६३,८७६
२९ पञ्चकन्या स्टील ५२,१९,३६२
३० एसआर स्टील इन्डष्ट्रिज १६,२४,५९७
३१ बुटवल सिमेन्ट १८,४५,४९,४८१
३२ लक्ष्मी स्टील २३,७९,३१,०३७
३३ सोनापुर मिनरल्स एण्ड आयल २४,२९,९९,२७३
३४ घोराही सिमेन्ट ५०,८५,३५,३४१
जम्मा ६,४०.९२,४०,७०१
स्रोत : नेपाल विद्युत प्राधिकरण

1

Scroll to Top