डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत उपभोग गरेको विद्युत्को अर्बौँ बक्यौता वर्षौँसम्म तिर्न अटेरी गर्दै आएका उद्योगीहरूले अहिले कामदारको रोजीरोटीमाथि प्रहार गर्न थालेका छन्। नेपाल विद्युत् प्राधिकरणले पटक–पटकको ताकेतापछि बक्यौता नतिर्ने उद्योगहरूको लाइन काटिदिएपछि उद्योग मालिकहरूले ठूलो सङ्ख्यामा कामदारलाई अनिश्चितकालका लागि बेतलबी बिदामा राख्न सुरु गरेका हुन्।
विद्युत् आपूर्ति बन्द भएपछि उत्पादन ठप्प भएका उद्योगहरूले कर्मचारीलाई ‘नो वर्क, नो पे’ को नीति अपनाउँदै बिदामा बस्न भनेका छन्। अधिकांश उद्योगले विद्युत् समस्या लम्बिएमा जागिर नै छाड्नुपर्ने मनस्थिति बनाउनसमेत दबाब सिर्जना गरेका छन्।
विराटनगरको रिलायन्स स्पिनिङ मिल्स, रूपन्देही कोटीहवाको पञ्चकन्या उद्योग, भैरहवाको अर्घाखाँची सिमेन्ट, रूपन्देहीकै सिद्धार्थ पेटप्लास्टलगायत उद्योगले कामदारलाई अनिश्चितकालका लागि बिदामा बस्न भनेका छन् । अधिकांश उद्योगले बिदामा रहँदाको तलब दिन नसक्ने भन्दै लामो समय विद्युत् नजोडिए जागिर नै छाड्नुपर्ने मनस्थिति बनाउनसमेत भनेका छन् ।
७५ करोड ३७ लाख बक्यौता रहेको रिलायन्स स्पिनिङले तीन हजार पाँच सय कामदारलाई अनिश्चितकालका लागि बिदामा राखेको छ । यो उद्योगमा प्राधिकरणले ४ कात्तिकमा विद्युत् लाइन काटेपछि उत्पादन ठप्प छ । यो विदेशमा धागो निर्यात गर्ने उद्योग हो ।
त्यस्तै, रूपन्देहीको कोटीहवामा रहेको पञ्चकन्या उद्योगले एक हजार दुई सय कामदारलाई बिदामा राखेको छ । पञ्चकन्या स्टिल इन्डस्ट्रिजको ५२ लाख र प्लास्टिक इन्डस्ट्रिजको २५ लाख गरी ७७ लाख बक्यौता तिर्न बाँकी यो उद्योगले हाल कर्मचारीलाई बिदामा बस्न भन्दै उद्योग बन्दको अवधि लम्बिए तलब सुविधा दिन नसकिने जानकारी गराएको छ । पञ्चकन्या उद्योगका प्रबन्धक देवेन्द्र साहूले विद्युत् कटौती लम्बिए कामदारलाई तलब दिन नसकिने बताए ।
प्राधिकरणले गलत नियतले बक्यौता मागेको दाबी गर्दै साहूले त्यस्तो रकम नतिर्ने चेतावनीसमेत दिए । पञ्चकन्या उद्योगले नियमित विद्युत् महसुल समयमै बुझाएर दुई प्रतिशत सुविधा लिइरहेको उनले बताए ।
भैरहवाकै अर्घाखाँची सिमेन्टले पनि तीन सयभन्दा बढी कामदारलाई अनिश्चितकालका लागि बिदामा राखेको छ । यो उद्योगले विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता ४४ करोड ८४ लाख छ । तर, बक्यौता तिर्न अटेर गरेपछि प्राधिकरणले ४ कात्तिकमा उद्योगमा विद्युत् लाइन काटेको थियो ।
रूपन्देहीमै रहेको सिद्धार्थ पेटप्लास्टले पनि ३५ कामदारलाई अनिश्चितकालका लागि भन्दै बेतलबी बिदामा राखेको छ । बोतलजन्य उत्पादन गर्ने उद्योगमा हाल सरसफाइ र उद्योग कुर्न दुई कामदार मात्रै नियमित रहेको म्यानेजर लेखनाथ भट्टराईले जानकारी दिए । ‘उद्योगमा विद्युत् लाइन काटिएपछि पानी उमाल्ने र मोबाइल चार्ज गर्ने अवस्था पनि छैन । कर्मचारीलाई कसरी तलब दिने ?’ उनले भने, ‘त्यसैले, मजदुर/कर्मचारीलाई विनातलब बिदामा राखेका छौँ । विद्युत् जोडिएपछि मात्रै फिर्ता बोलाउँछौँ । अहिले उद्योग कुर्न र सरसफाइ गर्न दुई कर्मचारी मात्रै कार्यरत छन् ।’
यीबाहेक बक्यौता नतिरेका अन्य उद्योगले पनि कर्मचारीहरूलाई बिदामा बस्न दबाब दिइरहेका छन् । हजारौँ मजदुर/कर्मचारीलाई बेतलबी बिदामा राखेर उनीहरूमार्फत प्राधिकरणमाथि दबाब बढाउने रणनीतिमा उद्योगीहरू देखिन्छन् ।
मुख्य प्रभावित उद्योग :उद्योगको नाम स्थान बक्यौता रकम (करोडमा) प्रभावित कामदार सङ्ख्या रिलायन्स स्पिनिङ मिल्स विराटनगर ७५.३७ करोड ३,५०० जना अर्घाखाँची सिमेन्ट भैरहवा ४४.८४ करोड ३०० भन्दा बढी पञ्चकन्या उद्योग (स्टिल र प्लास्टिक) रूपन्देही, कोटीहवा ०.७७ करोड (७७ लाख) १,२०० जना सिद्धार्थ पेटप्लास्ट रूपन्देही N/A ३५ जना
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठ उद्योगबाट कर्मचारी निकाल्ने तथा बिदामा राख्ने काम गलत भएको बताउँछन् ।
देश चरम लोडसेडिङमा रहेका वेला उद्योगहरूलाई प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत २४ घण्टासम्म विद्युत् दिएको थियो । त्यसमा ६५ प्रतिशत थप शुल्क (प्रिमियम) लिने भनिएको थियो । तर, केही उद्योगले प्रिमियम महसुल तिर्न पहिलादेखि नै आनाकानी गर्दै आएका छन् । पछिल्लोपटक प्राधिकरणले १२ असोजमा सार्वजनिक सूचना जारी गर्दै २ कात्तिकसम्मको अल्टिमेटम दिएको थियो । त्यसमा प्राधिकरणले २८ मासिक किस्ताको सुविधा दिने पनि बताएको थियो ।
०७२ माघदेखि ०७५ वैशाखसम्म डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत २४ घण्टासम्म विद्युत् उपभोग गरेर प्रिमियम महसुल नबुझाउने उद्योग सुरुमा ५८ वटा थिए । यसमध्ये १० उद्योगले बक्यौता चुक्ता गरिसकेका छन् । त्यस्तै, डाबर नेपाल र सुदूरपश्चिम हवाई कार्यालयको धरौटी जफत गरेर बक्यौता असुली गरिएको थियो । अरू १५ उद्योग पनि बक्यौता तिर्ने प्रक्रियामा यसअघि नै आएका थिए । बाँकी ३१ उद्योगले कत्ति पनि बक्यौता तिरेका थिएनन् ।
यीमध्ये ६ उद्योगले अदालतबाट अन्तरिम आदेश लिएकाले प्राधिकरणले लाइन काटेको थिएन । यसरी बाँकी २५ उद्योगमा लाइन काटिएकोमा दुईवटाले सोमबार पहिलो किस्ता बुझाएपछि लाइन जोडिएको छ । अब लाइन काटिएका २३ उद्योग छन् । अदालतबाट अन्तरिम आदेश लिएका र लाइन काटिएका गरी २९ उद्योग अब बक्यौता तिर्ने प्रक्रियामा आउन बाँकी छ । सोमबार पहिलो किस्ता तिरेकासहित ३१ उद्योगको बक्यौता ६ अर्ब रहेको प्राधिकरणले जनाएको छ ।


