मंगलबार बिहानदेखि मनाङ जिल्लाको माथिल्लो भेगमा भएको भारी हिमपातका कारण विभिन्न स्थानमा फसेका करिब १५०० जनाको नेपाली सेनाले सुरक्षित उद्धार गरेकाे छ। उद्धार गरिएकाहरूमध्ये २०० भन्दा बढी विदेशी पर्यटक रहेका छन् ।
हिमपातले विशेषगरी तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ र हुम्दे इलाकाहरू बढी प्रभावित भएका थिए। यी क्षेत्रहरूमा हिउँ जमेपछि यात्रु तथा पर्यटकहरू बाटोमै रोकिएका थिए। मनाङस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको विशेष उद्धार टोलीले उद्धार कार्यको नेतृत्व गरेको थियो।
उद्धार कार्यमा स्थानीय प्रशासन, जनप्रतिनिधि, शसस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र स्थानीय बासिन्दाहरूको महत्त्वपूर्ण सहकार्य रहेको थियो।
हिमपातको जोखिम बढेसँगै समयमै समन्वय र सक्रियता अपनाउँदा मानवीय क्षति हुनबाट जोगिएको छ। हाल सुरक्षित स्थानमा पुर्याइएका सबैको अवस्था सामान्य रहेको र उनीहरूलाई आवश्यक सहयोग तथा प्राथमिक उपचार उपलब्ध गराइएको छ।
स्थानीय प्रशासनले मौसममा सुधार नआएसम्म उच्च हिमाली भेगको यात्रा नगर्न र सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।


