नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले इक्रा नेपालबाट डबल ए माइनस रेटिङ प्राप्त गरेको छ। यस श्रेणीमा पर्ने संस्थाहरूलाई अत्यन्तै उच्चस्तरको सुरक्षित र वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतायुक्त मानिन्छ। यो रेटिङ प्राप्त गर्ने नेपाल लाइफ इन्स्योरेन्स जीवन बिमा क्षेत्रमै पहिलो जीवन बिमा कम्पनी बनेको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय स्थायित्व, बलियो बजार स्थिति र समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमताका आधारमा इक्रा नेपालबाट डबल ए माइनस क्रेडिट रेटिङ प्राप्त गरेको हो। सन् २००१ मा स्थापित कम्पनीले हाल देशभर १९० भन्दा बढी शाखा सञ्चालन गर्दै आ.व. २०८१/८२ को असार मसान्तसम्म कुल बिमा शुल्कको २७ प्रतिशतभन्दा बढी बजार हिस्सा कायम गरेको छ।
कम्पनीको सोल्भेन्सी अनुपात १५०.४० प्रतिशत छ जुन नेपाल बिमा प्राधिकरणले तोकेको न्यूनतम अनुपातभन्दा बढी हो। कम्पनीले करिब ९४ प्रतिशत लगानीे स्थिर ब्याज दिने उपकरणहरूमा गरेको छ, जसले असार मसान्तसम्ममा औसत १०.०२ प्रतिशत प्रतिफल प्रदान गरेको छ।
आ.व. २०८०/८१ मा २.१२ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको सेयरधनी कोषमा १८ प्रतिशत प्रतिफल थियो। नेपाल लाइफले आफ्नो जोखिम सन्तुलन गर्न नेपाल पुनर्बिमा कम्पनी लिमिटेड, हिमालयन पुनर्बिमा लिमिटेड र ह्यानोभर रि (जर्मनी)सँग पर्याप्त पुनर्बिमा गरी आकस्मिक क्षतिबाट हुने सुरक्षा सुनिश्चित गरेको कम्पनीले जनाएको छ।


