हुलदंगा तथा आतंकवादसम्बन्धी जोखिमको एक्लैले एकमुस्ट पुनर्बिमा लिएको सरकारी स्वामित्वको नेपाल पुनर्बिमा कम्पनी (नेपाल रि)मा जेन–जी आन्दोलनका कारण १६ अर्ब पाँच करोड १३ लाखबराबरको पुनर्बिमा दाबी परेको छ ।
गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका कारण निर्जीवन बिमा कम्पनीहरूमा २३ अर्ब २३ करोड ३७ लाख २५ हजार रुपैयाँबराबरका तीन हजार एक सय ८७ वटा दाबी परेका छन् । त्यसमा निर्जीवन बिमा कम्पनीहरूले नेपाल रिमा १६ अर्बबराबरको दुई हजार आठ सय ६८ वटा पुनर्बिमा दाबी पेस गरेको नेपाल बिमा प्राधिकरणको तथ्यांक छ । त्यसमा नेपाल रिले बिमा कम्पनीहरूलाई एक अर्ब ९९ करोड २२ लाख अग्रिम भुक्तानी दिइसकेको छ । बिमा कम्पनीहरूले पनि बिमितलाई दुई अर्ब ७९ करोड ७४ लाख ४७ हजार रुपैयाँ अग्रिम भुक्तानी दिएका छन् ।
हुलदंगासम्बन्धी जोखिमको पुनर्बिमा व्यावसाय बाँडफाँट नगर्दा जेन–जी आन्दोलनबाट आएको बिमा दाबीमा अधिकांश दायित्व नेपाल रिलाई परेको छ । निजी क्षेत्रबाट स्थापना भएको हिमालयन रि–इन्स्योरेन्सलाई भने यसको कुनै दायित्व परेको छैन ।
बिमाको पनि बिमा गर्नुलाई पुनर्बिमा भनिन्छ । बिमामार्फत लिएको सबै जोखिम कम्पनी एक्लैलाई धारण गर्न वित्तीय रूपमा चुनौती हुन्छ । तसर्थ, कम्पनीहरूले केही अनुपातमा जोखिम आफूसँग राखेर बाँकीको पुनर्बिमा गर्छन्, जुन एउटै कम्पनीलाई मात्र नभएर दुई वा सोभन्दा बढी कम्पनीलाई पनि दिन सकिन्छ । पुनर्बिमा कम्पनीले पनि त्यसरी आएको जोखिम आफूलाई मात्रै राख्दैनन् । उनीहरूले पनि पुनर्बिमाको पनि बिमा अर्थात् रेट्रोसेसनमार्फत अन्य पुनर्बिमा कम्पनीलाई हस्तान्तरण गर्छन् ।
नेपालमा अन्य जोखिम न्यूनतम अनुपातमा नेपाल रि र हिमालयन रि दुवैलाई हस्तान्तरण गर्नुपर्ने नीति छ । बाँकी भएको जोखिम विदेशी पुनर्बिमा कम्पनीलाई पनि हस्तान्तरण गरिन्छ । तर, हुलदंगा तथा आतंकवादजन्य जोखिमको पुनर्बिमा ‘नेपाल रि’मा मात्रै गर्ने नीति छ । नेपालसहित विश्वका अधिकांश देश युद्धका वेलामा विदेशी पुनर्बिमा कम्पनीले नेपालको हुलदंगाको जोखिमको पुनर्बिमा लिन छाडेका थिए । त्यसपछि नेपालमै ०६०/६१ मा स्थापना गरिएको आकस्मिक बिमा कोषलाई नै कात्तिक ०७१ मा पुनर्बिमा कम्पनीका रूपमा स्थापना गरिएको हो । त्यसपछि कम्पनीले नै यसअन्तर्गतको व्यवसाय होल्ड गरेको छ । विगतमा यसमा राम्रो नाफा कमाए पनि यसपालि भने यसबाट नेपाल रिमा उच्च दाबी परेको छ ।
यस्तो जोखिमअन्तर्गत ३५ प्रतिशत दायित्व आफूसँग राखेर बिमा कम्पनीहरूले ६५ प्रतिशत दायित्व भने पुनर्बिमामार्फत नेपाल रिलाई हस्तान्तरण गर्छन् । प्रतिबिमालेख १० करोडमाथिको दाबीमा भने शतप्रतिशत नेपाल रिले नै भुक्तानी दिनुपर्ने सम्झौता छ । सोहीअनुसार कम्पनीहरूले नेपाल रिमा पुनर्बिमा दाबी पेस गरेका हुन् । यसमा नेपाल रिले न्यून अनुपातमा रेट्रोसेसन गर्दा धेरै दायित्व आफूले नै व्यहोर्नुपरेको छ ।


