Banijya News

नेकपा एसबाट दुई पूर्वमन्त्र फर्किए पुरानै घर एमालेमा

1
1.1K Shares

पूर्वमन्त्री रामकुमारी झाँक्री र किसान श्रेष्ठले नेकपा (एकीकृत समाजवादी) सँगको आफ्नो औपचारिक यात्रा समाप्त भएको घोषणा गरेका छन्।

उनीहरूले आज बसेरा होटलमा पत्रकार सम्मेलन आयोजना गरी एकीकृत समाजवादीसँगको सम्बन्ध र अध्याय टुङ्गिएको जानकारी गराएका हुन्।

नेकपा (एस) ले नेकपा (माओवादी केन्द्र) सहितका विभिन्न दलहरूसँग एकता गर्ने निर्णय गरेपछि असन्तुष्टि जनाउँदै छुट्टै समूह बनाएकी झाँक्रीले अब नेकपा (एमाले) मा फर्किने सङ्केत दिएकी छन्। उनले विचार र सिद्धान्त मिल्ने दलहरूसँग आफ्नो समूहको संवाद चलिरहेको जानकारी दिइन्।

झाँक्रीका अनुसार एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी निर्माण गर्दा सुरुमा एउटा ’भयंकर अभियान’ चल्ने विश्वासका साथ लागे पनि अहिले अनपेक्षित रूपमा यात्रा रोकिनुपरेको छ। उनले भनिन्, ‘एकीकृत समाजवादीसँगको यात्रा यहिसम्मको लागि मात्र रहेछ, पार्टी विघटनसँगै टुङ्गियो, हामी ’पज’ (स्थगित) भएका छौँ।’

त्यस्तै, नेता किसान श्रेष्ठले पनि एकीकृत समाजवादीसँगको यात्रा समाप्त भएको बताउँदै नेकपा (एमाले) मा फर्किने तयारीमा रहेको स्पष्ट पारेका छन्। अहिले एमालेका नेताहरूसँग छलफल चलिरहेको उनको भनाइ छ।

श्रेष्ठले एमालेबाट आफूहरूलाई कुनै पद वा सुविधा नचाहिएको उल्लेख गर्दै भने, ‘हामीलाई केही चाहिएको छैन मूल घरमा, हाँसेर बोल्दिए पुग्छ, सम्मानजनक व्यवहार गर्दिए पुग्छ। हामी संवादमा छौँ, विश्वास छ एमालेले त्यो वातावरण बनाउनेछ।’

1

Scroll to Top