Banijya News

बाढी पहिरोले क्षतिग्रस्त २२ जलविद्युत आयोजनाले अझै थालेनन् उत्पादन

1
1.2K Shares

गत असोज १७ र १८ गतेको अबिरल वर्षापछि आएको बाढी पहिरोका कारण क्षतिग्रस्त बनेका दुई दर्जन जलविद्युत आयोजना अझै पनि सञ्चालनमा आउन सकेका छैनन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अनुसार क्षतिग्रस्त बनेका २२ वटा जलविद्युत आयोजना अझै पनि सञ्चालनमा आउन नसकेका हुन् । सबैभन्दा बढी इलाममा रहेका जलविद्युत आयोजनामा नोक्सान भएको छ ।

इप्पानका अनुसार इलाममा मात्रै १५ जलविद्युत आयोजनामा क्षति पुगेको छ । जसमा ४.५ मेगावाट क्षमताको माइखोला जलविद्युत आयोजना, ८ मेगावाट क्षमताको माइखोला क्यासकेड, २२ मेगावाट क्षमताको माइखोला, ७ मेगावाट क्षमताको माइखोला क्यासकेड, ७.८ मेगावाट क्षमताको सुपरमाई, ९.६ मेगावाट क्षमताको सुपरमाई ए जलविद्युत आयोजना तथा ३ मेगावाट क्षमताको सुपरमाई ए क्यासकेड जलविद्युत आयोजना अझै पनि सञ्चालनमा आउन सकेका छैनन् ।

यस्तै, ७.६ मेगावाट क्षमताको जोगमाइखोला जलविद्युत आयोजना, ५.२ मेगावाट क्षमताको जोगमाइखोला क्यासकेड, ६.२ मेगावाट क्षमताको तल्लो जोगमाइखोला, ९.५ मेगावाट क्षमताको माइबेनी हाइड्रोपावर, ९ं.९ मेगावाट क्षमताको माथिल्लो माइखोला, ५.१ मेगावाट क्षमताको माइसी क्यासकेड र ४.९६ मेगावाट क्षमताको पुवा टु जलविद्युत आयोजना पनि क्षतिग्रस्त छन् ।

यस्तै, पाँचथरमा रहेको १४.९ मेगावाट क्षमताको हेवाखोला, ६.६ मेगावाट क्षमताको सापसुपखोला तथा सोलुखुम्बुमा रहेको ९.५ मेगावाट क्षमताको मध्ये सोलु जलविद्युत आयोजना र ३० मेगावाट क्षमताको न्यादी जलविद्युत आयोजनाको पनि उत्पादन बन्द छ । यी जलविद्युत आयोजना पुनर्निर्माणको चरणमा रहेकोले १७४ मेगावाट बिजुली उत्पादन बन्द रहेको इप्पानले जानकारी दिएको छ ।

सोलुखुम्बुमा रहेको ८२ मेगावाट क्षमताको तल्लो सोल,ु रामेछापमा रहेको ५२.४ मेगावाट क्षमताको लिखु ४ तथा पाँचथरमा रहेको २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना गरी जम्मा १५६.५ मेगावाट क्षमताका आयोजनाहरु पनि निर्माणधीन छन् । यी तीन जलविद्युत आयोजनाको उत्पादन भने बन्द भएको छैन । तर, आशिंक रुपमा उत्पादन भइरहेको इप्पानले जानकारी दिएको छ ।

इप्पानका अध्यक्ष गणेश कार्कीले कुनै आयोजना निर्माणाधीन तथा कुनै सञ्चालनमा आउने तयारीमा रहेको बताए । उनले अधिकांश आयोजनाहरूमा उत्पादन बन्द भएको जानकारी दिए ।

विद्युत विकास विभागका अनुसार इलाममा रहेका तीन जलविद्युत् आयोजना अपर माई, पुवा खोला–१ र माई सी जलविद्युत् आयोजना सञ्चालनमा आएका छन् । अपर माई जलविद्युत् आयोजना ९.९८ मेगावाटको रहेको छ ।

यो आयोजना गत असोज २६ गतेबाट सञ्चालनमा आएको विभागका सूचना अधिकारी बद्री कुइकेलले जानकारी दिए । उनका अनुसार माई सी जलविद्युत् आयोजना ५.१ मेगावाट क्षमताको रहेको छ । जुन असोज २३ गतेबाट सञ्चालनमा आएको थियो ।

३ मेगावाट क्षमताको पुवा खोला-१ जलविद्युत् आयोजना पनि सञ्चालनमा आइसकेको छ । यस आयोजनामा अनुमानित ४१ करोड क्षति भएको जानकारी दिइएको छ ।

1

Scroll to Top